काठमाडौँ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन्।सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसियसन र सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारी तथा कानुन व्यवसायीहरुले आन्दोलन जारी राखेका हुन्।
प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरुले आवाज उठाएको बताए।उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्नेमा जोड दिए।
अध्यक्ष श्रेष्ठले बारले केही समयपछि राष्ट्रिय सम्मेलन गर्न लागेको र सम्मेलनमा न्यायपालिका सुधारको लागि हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयनमा भइरहेको बाधालाई हटाएर काम अघि बढाउने बताए।
‘हामी केको लागि आन्दोलन गरिरहेका छौँभन्दा न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन होस्, त्यस किसिमबाट न्याय दिलाउन सकियोस्, भनेर हामी आन्दोलनमा छौँ’, उनले भने, ‘हामी न्यायपालिकाको पहरेदारको हैसियतले न्यायपालिकाभित्रको विद्यमान विकृति, विसंगति हटाउनको लागि हामीले आवाज उठाउने हो। यो सुधार नभएसम्मको लागि यो आन्दोलन जारी रहन्छ।’
अध्यक्ष श्रेष्ठले काठमाडौँ उपत्यका बाहिर रहेका कानुन व्यवसायीहरुले अहिले भइरहेको आन्दोलन पर्याप्त नभएको गुनासो गरेसँगै अब झनै सशक्त आन्दोलन गर्ने बताए।