काठमाडाैँ ।कतार विश्वकप फुटबलमा शनिबार विश्वकप सेमिफाइनल सममीकरण पूरा हुँदैछ। शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेलहरू हुँदै छन्।
शनिबार हुने पहिलो तथा जारी संस्करणको तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदा अर्को खेलमा साविक च्याम्पियन फ्रान्सले इंग्ल्यान्डको सामना गर्दैछ।
अल थुमामा स्टेडियममा हुने मोरक्को र पोर्चुगलबीचको खेल राति ८:४५ बजे सुरु हुने छ। दुवै टिम जित निकाल्दै अन्तिम ४ मा पुग्ने प्रयासमा हुने छन्।
मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वाटरफाइनल पुगेको थियो। भने पोर्चुगलले स्विट्जरल्यान्डमाथि आधा दर्जन गोल गर्दै अन्तिम ८ मा पुगेको थियो।
यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने छ। अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२:४५ मा सुरु हुनेछ। साविक विजेता फ्रान्स र इंग्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन्।
फ्रान्सले राउण्ड अफ १६ मा पोल्याण्डलाई हराएर क्वाटरफाइनल प्रवेश गर्दा इंग्लिस टिमले सेनेगललाई पाखा लगाएको थियो।