कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको निर्णय

कर्णाली अनलाइन १२ फाल्गुन २०७९, शुक्रबार २०:१९

काठमाडौँ।कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहित ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई अघि बढाउने निर्णय गरेको छ।बैठक सकिएपछि बालुवाटारबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले कांग्रेसलाई राष्ट्रपति दिने निर्णय भएको जानकारी सञ्चारकर्मीहरुसँग गराएका छन्।

बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल चलेको थियो।

सुरुमा कांग्रेस, माओवादी. एकीकृत समाजवादी र जसपामात्र बैठकमा बसे पनि रात छिप्पिँदै जाँदा लोसपा, नागरिक उन्मुक्ति, जनमत र जनमोर्चा पनि बैठकमा थपिएका थिए।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने बैठकमा सहभागी थिएनन्। बैठकले कांग्रेस नेतृत्वको गठबन्धन औपचारिक रुपमा पुन: सतहमा ल्याएको छ।

यसअघि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहालसँग बालुवाटारमा भेटघाट गरेर फर्किए पनि प्रधानमन्त्री दाहालबाट कुनै सकारात्मक सन्देश पाउन सकेनन्।

ओलीले गत पुस १० गतेको सहमतिअनुसार नै अघि बढ्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका थिए। पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनुअघि राष्ट्रपति एमालेलाई दिने सहमति भएको एमाले नेताहरूको दाबी छ। प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्नुपर्ने अडान राखेका थिए।

राष्ट्रपति उम्मेदवारको मनोनयनका लागि शनिबार तिथि निर्धारित गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भयो : प्रदीप ज्ञवाली

१२ फाल्गुन २०७९, शुक्रबार २०:१९
काठमाण्डौ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएको बताएका छन्। राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउने ८ दलको निर्णयपछि एमाले नेता ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रचण्डलाई प्रधानमन्त्री बनाएको एमालेले राष्ट्रपति आफूले पाउनु पर्ने र पुस १० गते नै यो सहमती भइसकेको बताउँदै आएको थियो। तर माओवादीले शुक्रबार […]

सम्बन्धित शीर्षक