ग्लोबल आइएमई बैंकले ‘प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने

कर्णाली अनलाइन १० मंसिर २०८३, बिहीबार २१:५८

काठमाडौँ।ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ प्रतियोगिता हुने भएको छ । बैंकले आगामी मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

दुई दिनसम्म चल्ने यस प्रतियोगिताले खेलप्रेमीलाई खेल, प्रकृति र आपसी सद्भावको अनुपम अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ । प्रतियोगितामा ‘होल इन वान’ गर्ने खेलाडीलाई आधुनिक स्कोडा एसयूभी गाडी पुरस्कार राखिएको छ भने अन्य विधाका विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमको विशेष प्याकेज प्रदान गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लु तथा बाराहसिंघेले सहकार्य गरेका छन् । खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्धको विस्तार तथा विभिन्न क्षेत्रका खेलप्रेमीबिच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने उद्देश्यले बैंकले ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ आयोजना गर्न लागेको जनाएको छ ।

आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत उत्कृष्ट ग्राहक सेवा दिँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि जितिसकेको छ । यसका साथै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयरजस्ता प्रतिष्ठित सम्मानसमेत प्राप्त गरेको छ ।

मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक बनेको ग्लोबल आइएमईले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *