काठमाडौँ।एमसिसीको विषयले संकटमा परेको सत्ता गठबन्धनको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो ३ बजे बस्ने तय गरिएको छ।बैठकले एमसिसी शुक्रबार बस्ने संसदमा टेबुल गर्ने वा नगर्ने निक्र्योल गर्ने बुझिएको छ। तर सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच एमसिसीबारे सहमति हुने सम्भावना छैन। कांग्रेसले एमसिसी संसदमा प्रस्तुत गर्न जोड दिइरहेको छ भने माओवादी र एकीकृत समाजवादी विपक्षमा उभिएका छन्। सत्ता गठबन्धनमा आवद्ध जनमोर्चा भने एमसिसी खारेज नै गर्नुपर्ने पक्ष छ। जनता समाजवादीले भने अहिलेसम्म स्पष्ट धारणा बनाएको छैन।
माओवादी केन्द्रले यथास्थितिमा एमसिसी संसदमा टेबल गर्न नसकिने, संसदको अवरोध अन्त्य हुनुपर्ने र एमसिसी संशोधन हुनुपर्ने संसदीय दलबाटै निर्णय गरेको छ। यथास्थितिमा एमसिसी पारित गरिए सरकारबाट बाहिरिने माओवादी केन्द्रले निर्णय गरेको छ। माओवादी केन्द्र एससिसीविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेको छ। एकीकृत समाजवादीले समेत बुधबार एमसिसीविरुद्ध आन्दोलनमा उत्रिएको छ।
यस्तो स्थितिमा सत्ता गठबन्धन एक भइरहने सम्भावना नरहेको गठबन्धनमा आवद्ध एक दलका नेताले बताए। उनका अनुसार प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार एमसिसीकै कारण सत्ता गठबन्धन छिन्नभिन्न हुने सम्भावना बढेको छ।