काठमाडौँ।कतारमा जारी विश्वकप फुटबलमा दक्षिण कोरिया घानासँग स्तब्ध भएको छ। कतारको एजुकेशन सिटी स्टेडियममा सोमबार भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
मोहम्मद सलिसुले खेलको २४ औँ मिनेटमा गोल गर्दै घानालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछि खेलको ३४ औँ मिनेटमा मोहम्मद कुदुसले गोल गर्दै घानाको अग्रता दोब्बर पारेका थिए।
दक्षिण कोरियाका चो गइसुङले खेलको ५८ औँ र ६१ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर ६८ औँ मिनेटमा घानाका मोहम्मद कुदुसले व्यक्तिगत दोस्रो तथा घानाका लागि तेस्रो गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे।
दक्षिण कोरियाले खेलको अन्तिमतिर गोलका लागि केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।
इन्जुरी समयको अन्तिमतिर दक्षिण कोरियाले कर्नर पाए पनि रेफ्रीले खेल अन्त्य गरिदिएपछि केहीबेर मैदानमा तनाव सिर्जना भएको थियो, जसमा दक्षिण कोरियाका प्रशिक्षक पाउलो बेन्टोले रातो कार्ड पाए।
आफ्नो पहिलो खेलमा घाना पोर्चुगलसँग ३–२ ले पराजित भएको थियो भने दक्षिण कोरियाले उरुग्वेसँग बराबरी खेलेको थियो।
समूह ‘एच’मा ३ अंकसहित पोर्चुगल शीर्ष स्थानमा छ। तीन अंक नै जोडेको घाना दोस्रो तथा एक–एक अंक जोडेका उरुग्वे र दक्षिण कोरिया क्रमशः तेस्रो र चौथो स्थानमा छन्। पोर्चुगलले आज राति १२ः४५ मा उरुग्वेसँग खेल्दैछ।