तिहारको तेस्रो दिन:कार्तिक कृष्ण औँसी,आज गाईतिहार

कर्णाली अनलाइन २७ कार्तिक २०८०, सोमबार ०८:०२

काठमाडौं।कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ।यो दिन विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ।

औँसीका दिन बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। आइतबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ। सोमबार बिहान गाईको पूजा गरिँदैछ।

‘कार्तिक कृष्ण औँसीको गाईतिहार सोमबार भए पनि साँझ वा रात्रिमा तिथि नरहने भएका कारण आइतबार नै लक्ष्मीपूजा गरिएको हो’, पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले भने।

उनका अनुसार आइतबार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटमा औँसी लागेको हो। सोमबार २० घडी ४४ पला अर्थात् दिउँसो २ बजेर ४४ मिनेटसम्म औँसी रहने समितिले जनाएको छ।

गत वर्ष पनि यस्तै परेको थियो। अघिल्लो दिन बेलुकी लक्ष्मीपूजा गरी भोलिपल्ट बिहान गाईपूजा गरिएको थियो।श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ।

यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ।तिहारको चौथो दिन गोरुपूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टिकटक प्रतिबन्ध गर्ने निर्णय खारेजीको मागसहित सर्वोच्चमा रिट

२७ कार्तिक २०८०, सोमबार ०८:०२
काठमाडौं । सरकारले नेमालमा टिकटकमाथि प्रतिबन्ध लगाउन गरेको निर्णयविरुद्व सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ। शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। उनको रिट दर्ता प्रक्रियामा रहेको जनाइएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकले सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। अधिवक्ता त्रिपाठीले टिकटक […]

सम्बन्धित शीर्षक