युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको शक्ति प्रदर्शनमा कसको कति प्रदर्शनकारी सहभागी?

कर्णाली अनलाइन ७ मंसिर २०८०, बिहीबार २२:२२

काठमाडौं । बिहीबार काठमाडौंमा दुई फरक समूहले गरेका कार्यक्रममा १६ हजारभन्दा बढी प्रदर्शनकारी सहभागी भएको सुरक्षा निकायले आंकलन गरेको छ । सुरक्षा निकाय स्रोतका अनुसार बल्खुमा आयोजित दुर्गा प्रसाईको कार्यक्रममा ९ हजारभन्दा बढी प्रदर्शनकारी सहभागी थिए ।

यस्तै महेश बस्नेतको कार्यक्रममा ७ हजारभन्दा बढी सहभागी भएको एक उच्च प्रहरी अधिकृतले बताए । कार्यक्रमको सुरक्षा व्यवस्थापनका लागि जिल्लास्तर र काठमाडौं उपत्यकास्तरमा संयुक्त कमान्ड सेन्टर बनाइएको थियो ।

एमालेका युवा विद्यार्थीहरुको प्रदर्शन शान्तिपूर्ण र व्यवस्थित देखिएको थियो भने दुर्गा प्रसाईको प्रदर्शन नेतृत्वविहीन अराजक देखिएको प्रहरी अधिकारीहरुले बताएका छन् । कसैको पनि कमाण्ड नहुँदा तोडफोड र ढुंगामुढामा प्रदर्शनकारी उत्रिएका थिए । त्यसक्रममा बाध्य भएर बल प्रयोग गर्नु परेको र अश्रु ग्याँस प्रहार गरेर भीड तितरवितर नपारेको भए सार्वजनिक र व्यक्तिका सम्पत्तिमा थप क्षति हुने काठमाडौं प्रहरी प्रमुख भुपेन्द्र खत्रीले बताएका छन् ।

एमालेका युवा विद्यार्थीको प्रदर्शनमा भने विभिन्न जनवर्गीय संगठन र पार्टीका सम्पर्क मन्चहरुले आ आफ्नो कमिटीमा आबद्ध कार्यकर्ताको हाजिरीसहित व्यवस्थित गरेकाले कसैले पनि कमाण्डबाहिर गएर अवान्छित गतिविधि गर्न पाएनन् । युवा संघको प्रदर्शनमा १० हजारजतिको संख्यामा सहभागी भए पनि भाषण शुरु हुँदा ठूलै संख्या हाजिरी जनाएर बाहिरिइसकेको थियो ।

एक अधिकारीले भने–हामीले ३० हजार प्लस मान्छे दुर्गा प्रसाईकोमा आउन सक्ने अनुमान गरेका थियौं तर ९ हजारजति आए । युवा संघको हामीले अपेक्षा गरेजस्तै प्रदर्शन भयो ।

बल्खुमा प्रसाई समूहका प्रदर्शनकारी कालिमाटी प्रवेश गर्न खोजेपछि प्रहरीले १४६ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यसक्रममा ५ राउन्ड रबरका गोली पनि प्रहार भएको बुझिएको छ । झडपका क्रममा प्रदर्शनकारीतर्फ ६ जना र प्रहरीतर्फ २ जना घाइते भएका छन् । उनिहरुको अवस्था सामान्य रहेको बुझिएको छ । तीनकुनेमा हुने कार्यक्रममा सहभागी हुन स्वयंम्भुबाट आएका युवा संघका कार्यकर्ता र प्रसाई समूहका कार्यकर्ताबीच दिउँसो बल्खुमा झडप भएको थियो ।

युवा संघका कार्यकर्तालाई तीनकुने पुर्याउिने रुट मिलाउनेक्रममा त्रुटी हुँदा उक्त झडपको स्थिती आएको एक अधिकृतले बताए । ‘युवा संघका कार्यकर्तालाई कलङ्कीबाट कालिमाटी भएर बल्खु हुँदै तीनकुने लैजान खोज्दा त्यहाँ समस्या भएको हो। अन्यथा दुई समूहबीच कुनै तनाव देखिएन’, ती अधिकारीले भने ।

दुर्गा प्रसाईको कार्यक्रममा काठमाडौं बाहिरबाट करिब ५ हजारको संख्यामा प्रदर्शनकारी काठमाडौं आएको सुरक्षा निकायको अनुमान छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौँमा भित्रियो पैदलयात्रुले नै ट्राफिक बत्ती बालेर बाटो काट्ने प्रविधि, आजदेखि बबरमहलबाट सुरु

७ मंसिर २०८०, बिहीबार २२:२२
काठमाडौँ।काठमाडौँको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ।सोमबारबाट बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ सञ्चालनमा ल्याइएको हो। ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट १० लाख रुपैयाँ लागतमा राखिएको हो। सञ्चालनमा आएसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका […]