विराटनगर। प्रदेश नम्बर १ का मुख्मन्त्री भीम आचार्यले राजीनामा दिएका छन्। सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आचर्याले राजीनाको घोषणा गरेका हुन्। प्रदेशसभामा राखिएको विश्वासको मत सम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले विश्वासको मत नपाउने देखिएपछि राजीनामा दिएका हुन्।
आचार्य गत भदौ १० शेरधन राइले राजीनामा दिएपछि मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए। प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो।
प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी आचार्यविरुद्ध उभिएका छन्। विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ।