बार निर्वाचनमा सहभागी भएनन् २ हजार कानुन व्यवसायी

कर्णाली अनलाइन २३ चैत्र २०८१, शनिबार १९:२९

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा दुई हजार १ कानुन व्यवसायीले मतदान गरेनन् । शुक्रबार बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म भएको मतदानमा देशभर जम्मा ७९.९६ प्रतिशत मत खसेको छ ।

बार निर्वाचन समितिका अनुसार देशभर नेतृत्व छनोटका लागि योग्य मतदाता संख्या ९ हजार ९९७ रहेको थियो । जसमध्ये ७ हजार ९९५ मत खसेको छ । निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार काठमाडौँ केन्द्रमा ४ हजार ६४३ कानुन व्यवसायीले मतदान गरेकोमा काठमाडौँ केन्द्रबाहिर तीन हजार ३६१ कानुन व्यवसायीले मतदान गरेका छन् ।
उच्च बार पाटनमा जम्मा २ हजार १०६ मतदाता रहेकोमा एक हजार ५५९ मत खसेको छ । यस्तै काठमाडौँ बारमा एक हजार ९७४ मतदाता रहेकोमा एक हजार ३८१ ले मतदान गरे । ललितपुर बारका ६७५ मतदातामध्ये ५६० जनाले मतदान गरेका छन् । भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, रामेछाप, दोलखा, ओखलढुंगा, नुवाकोट र विशेष बार गरी जम्मा ५७९ मतदाता रहेकोमा ३८८ जनाले मतदान गरेका छन् । परिवर्तित केन्द्रबाट २३१ मतदाता रहेकोमा २०६ मत खसेको समितिले जानकारी दिएको छ ।
मतदान सकिए पनि मतगणना सुरु भने कम्तिमा सोमबार पछि हुने निर्वाचन समितिले जनाएको छ । ‘चैत २५ सम्म बाहिरको मतपेटिका संकलन भएर आइसक्ने अनुमान छ, बाहिरको मतपेटिका आएपछि गणना सुरु हुन्छ,’ निर्वाचन अधिकृत सिटौलाले बताए ।

३ वर्षे कार्यकालको २५ सदस्यीय पदाधिकारीका लागि भएको निर्वाचनमा सत्तापक्षीय नेकपा एमालेनिकट पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) र नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बीच गठबन्धन भएको छ । जसलाई राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट कानुन व्यवसायीहरुले समर्थन गरेका छन् ।

सत्तापक्षीय लोकतान्त्रिक प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूह नाम दिइएको उक्त समूहबाट डीएलएका प्रा डा विजयप्रसाद मिश्र उम्मेदवार छन् भने एमालेनिकट पीपीएलएका केदार कोइराला महासचिवका उम्मेदवार छन् ।

यसैगरि प्रतिपक्षी समूह नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक कानुन व्यवसायी संगठन (आरपीएलए)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट स्वतन्त्र कानुन व्यवसायी संगठन र नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरुसँग मिलेर प्यानल बनाएको छ । जसमा आरपीएलएका रमनकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार छन् भने रास्वपानिकट कानुन व्यवसायी यज्ञमणि न्यौपाने महासचिवका उम्मेदवार छन् । जसलाई नेकपा एसलगायतका दल निकट कानुन व्यवसायीहरुले समर्थन गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोट भूकम्पमा परी दश जना घाइते

२३ चैत्र २०८१, शनिबार १९:२९
सुर्खेत। शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी दश जना घाइते भएका छन्। भूकम्प जाँदा अत्तालिएर घरबाट हाम फाल्दा तथा असावधानीपूर्वक भाग्दा उनीहरू घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। घाइते हुनेहरुमा जाजरकोटका आठ जना र रुकुम पश्चिमका दुई जना रहेका छन्। घाइतेभएकाहरूमध्ये तीन जना […]