फागुन ८ गते पुन: बस्ने गरी सकियो सत्ता गठबन्धनको बैठक

कर्णाली अनलाइन ६ फाल्गुन २०७८, शुक्रबार ०७:२८

काठमाडौँ।अमेरिकी अनुदान सहयोग एमसीसीबारे निर्णय गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ। अर्को बैठक फागुन ८ गते पुनः बस्ने गरी नेताहरु बालुवाटारबाट निस्किएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक विना निष्कर्ष टुंगिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले फागुन ८ गते पुनः बैठक बस्ने गरी शुक्रबारको बैठक टुंग्याइएको जानकारी दिइन्।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, माओवादी अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी भएका थिए।

गठबन्धनको बैठकअघि प्रचण्ड निवास खुमलटारमा नेपाली कांग्रेस बाहेकका प्रचण्ड, नेपाल र यादवले भेटवार्ता गरेका थिए।

यसअघि बिहीबार बसेको शीर्ष नेताहरुको बैठकले पनि कुनै निर्णय दिन र सहमति गर्न सकेन।

आजै बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। दिउँसो ३ बजे बस्ने संसद बैठकको तयारीका लागि सभामुख सापकोटाले समितिको बैठक आह्वान गरेका हुन्।

सत्ता गठबन्धनका दलहरुले नै एमसीसीबारे फरक–फरक धारणा सार्वजनिक गर्दै आएका छन्। प्रधानमन्त्री देउवा र कांग्रेस एमसीसी सम्झौता संसदबाटै अनुमोदन हुनुपर्ने पक्षमा छन्। कांग्रेसको संसदीय दलले निर्णयअनुसार नै एमसीसी संसद बैठकमा टेबुल हुनुपर्नेमा प्रधानमन्त्री अडिग छन्। तर सत्ता गठबन्धनका अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपाल यसमा सहमत भइसकेका छैनन्।

माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसीसी संसदमा टेबुल गर्ने पक्षमा छैनन्। जनता समाजवादी पार्टी सत्ता गठबन्धनभित्र सहमति भएअनुसार गर्नुपर्ने पक्षमा छ भने जनमोर्चा नेपाल सम्झौता नै खारेज हुनुपर्ने पक्षमा छ।

सत्ता गठबन्धनबाट साथ र सहयोग नपाएपछि कांग्रेस एक्लिएको छ। कांग्रेसको एक्लो प्रयासले एमसीसी अघि बढ्न सक्दैन। जसले गर्दा एमसीसी अनिश्चयको स्थितिमा पुगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आफ्नै बुवालाई प्रेसर कुकरले हानेर हत्या गर्ने दुई जना पक्राउ

६ फाल्गुन २०७८, शुक्रबार ०७:२८
काठमाडौँ।खाना पकाउने प्रेसर कुकरले हानेर आफ्नै बुवाको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ कीर्तिपुर नगरपालिका–६ का ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई हिजो प्रहरीले पक्राउ गरेको हो । शंकर र कृष्ण मृतकका माइलो र कान्छो छोरा हुन् । प्रहरीका अनुसार दुवै जनाले रक्सी खाएर ६५ […]