काठमाडौँ।आफ्नो ‘ड्युटी आवर’ सकिएको भन्दै काठमाडौँबाट रुकुमको चौरजहारीका लागि उडेको विमान नेपालगञ्जमै अवतरण गर्ने पाइलटका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले चासो दिएका छन्।
उनले नेपाल वायुसेवा निगमका प्रमुखसहितलाई घटनाबारे सत्यतथ्य बुझ्न र थप कारवाहीको प्रक्रियाका सम्बन्धमा छलफल गर्न मन्त्रालयमा बोलाएका छन्।मन्त्री आलेको निजी सचिवालयका अनुसार मंगलबार दिउँसो तीनबजेपछि छलफल हुनेछ।
काठमाडौबाट रुकुमको चौरजहारीका लागि उडेको निगमको ट्विनअर्टर जहाज सोमबार बेलुका नेपालगञ्जमा ‘नाइट स्टप’ गरेको थियो । विमानका पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिएपछि विमान नेपालगञ्जमै रोकिएको बताइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनी निश्चित समयावधि तोकेको छ। त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुवैलाई नियामक निकायले कारवाही गर्छन्।
पाइलटले सो सीमा मिचिने भएपछि विमान नेपालगञ्जमा रोकिएको दाबी निगमका अधिकारीले गरेका छन्। तर यात्रुहरु भने आफूहरु अलपत्र परेको भन्दै आक्रोशित भएका छन् ।