कालिकोट। सेवा प्रवाह र व्यवस्थापनमा स्वास्थ्य सेवा कार्यालय कालिकोट कर्णाली प्रदेशमा द्वितीय स्थान हासिल गरेको छ। कर्णालीका १० वटै जिल्लाको समीक्षाबाट कालिकोट द्वितीय स्थान हासिल गरेको हो ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा सेवा प्रवाह, व्यवस्थापन, वार्षिक प्रतिवेदन, वेरुजु फछ्यौट, समन्वय, सहभागिता, भौगोलिक विकटता लगायतका विभिन्न ३१ सूचकमा गरिएको मूल्यांकनमा कालिकोट द्धितीय स्थान लिन सफल भएको स्वास्थ्य सेवा व्यवस्थापक डा.रत्नविर सुनारले बताए।
त्यसका साथै नवप्रर्वनात्मक कार्यक्रमअन्तर्गत जिल्ला अस्पतालमा सञ्चालित फिजियोथेरापी सेवा, विभिन्न पालिकाले सुत्केरीलाई दिएको निःशुल्क एम्बुलेन्स सेवा, गर्भवती र सुत्केरीलाई दिइने पोषण सेवालगायत जिल्लाका सम्पुर्ण स्वास्थ्य संस्थाले गरेको उत्कृष्ट कार्यका आधारमा स्वास्थ्य सेवाका विभिन्न सूचक सुधार गर्न सफल भएको उनले बताए।
‘यसका लागि स्वास्थ्य शाखा प्रमुख,स्वास्थ्यकर्मी ,जिल्ला प्रशासन,नेपाल प्रहरी ,शसस्त्र प्रहरी बल ,उद्योग वाणिज्य संघ स्थानीय तह, साथै विभिन्न साझेदार संस्था धन्यवादका पात्र छन् स्वास्थ्य सेवा व्यवस्थापक डा.सुनारले भने ‘स्वास्थ्य सेवा सुधार गर्न सरोकारवाला को साथ र सहयोगले नै हामी सफलता उन्मुख भएका हौ, हामी अझै राम्रो गर्न चाहन्छौं,आगामी दिनमा सहयोगको पनि अपेक्षा गर्दछौ।’ कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कार्यालयलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रशंसापत्र प्रदान गरेका छन्।