काठमाडौँ।जाडोमा विशेषगरी दीर्घ रोग हुनेहरूले ध्यान दिनुपर्छ। त्यसमा पनि बाथ, स्वासप्रश्वास सम्बन्धी दम र मुटुका रोगीहरूले अझै बढी ध्यान दिनुपर्छ। जब जाडोयाम सुरू हुन्छ, स्वासप्रश्वासका लागि प्रयोग हुने नलीहरू खुम्चिने गर्छ।
नलीहरू खुम्चिसकेपछि मुरलीको जस्तै आवाज आउँछ। त्यो आवाज आउनु भनेको दम बल्झिनु हो। दमका औषधि खाइरहने बिरामीले आफूलाई केही नभएको भन्दै औषधि खान छोड्छ। यस्तो अवस्थामा बिरामीलाई दमले अझै च्याप्ने गर्छ।
जाडोको कारणले रक्तनली साँघुरो भएर जान्छ जसले गर्दा रक्तचाप बढ्छ। यसले पक्षघात हुन सक्ने खतरा रहन्छ। मुटुसम्बन्धी समस्या हुनेहरूलाई हृदयघात पनि हुनसक्ने खतरा रहन्छ। बाथसम्बन्धी व्यथाले मासु र हड्डी जुन तन्किने हो त्यो तन्किन पाउँदैन। जसले गर्दा बिरामीलाई समस्या पर्छ।
सामान्य अवस्थामा रहेको व्यक्तिलाई सताउने भनेको भाइरलको संक्रमणले हो। रूघाखोकी, घाँटी खसखस, एलर्जी जस्ता समस्या जाडो मौसममै हुन्छ।
जाडोमा बढी रूघाखोकी लाग्नुको प्रमुख कारण भनेको गर्मी समयमा चलिरहेको जीवनशैलीमा एक्कासि परिवर्तन भएर हो। गर्मीबाट जाडोमा आउँदा एलर्जी हुन्छ। जाडोयाममा विशेष किसिमको भाइरसको चहलपहल पनि हुन्छ जुन हाम्रो शरीरमा सजिलै छिर्न सक्छ। सजिलै छिर्ने भएको कारणले नै यो भाइरलको संक्रमण हुने हो।

