काठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ १० लाख ५ हजार मत गणना सकेको छ। १० लाख मतगणनामा एमालेले २ लाख ८४ हजार मत पाएको छ भने कांग्रेसले २ लाख ६२ हजार मत पाएको छ।तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ लाख ३७ हजार मत पाएको छ।
अहिलेसम्म पाएको मतलाई कुल सदर मत मान्दा यी तीन पार्टीका अतिरिक्त नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्र थ्रेसहोल्ड कटाएका छन्।
यसअतिरिक्त उल्लेख्य मत पाएका जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेका छैनन्।
अहिलेसम्म पाएको मतलाई आधार मान्दा एमालेले ३२.१५ प्रतिशत मत पाएको छ भने कांग्रेसले २९.७३ प्रतिशत मत ल्याएको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले १५.५ र माओवादी केन्द्रले १४.५८ प्रतिशत मत ल्याएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले करिब ८ प्रतिशत मत पाएको छ ।