प्रेम आचार्यले उठाएका बिषयमाथि छानबिन गर्ने मन्त्रिपरिषद्‌को निर्णय

कर्णाली अनलाइन ११ माघ २०७९, बुधबार २१:१४

काठमाडौँ।आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यले उठाएका बिषयको छानबिन गर्न गृहमन्त्रालयलाई जिम्मा दिएको छ।

बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र बुधबार उपचारको क्रममा मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो।

मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिम्मेवारी मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई नै दिएको छ।

आचार्यको मृत्युपछि नागरिकहरु सरकारसँग रुष्ट भएका बुधबार बिहानैदेखि विभिन्न कार्यक्रम गरेका छन्। सरकारले आचार्यको माग सम्बोधन नगरेको बताउँदै आफन्तले बुधबार बिहानैदेखि आचार्यको शव बुझ्न मानेका थिएनन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बुधबार कीर्तिपुर अस्पताल पुगेपछि बल्ल परिवारजन तथा आफन्तले शव जिम्मा लिएका हुन्। परिवारजन तथा आफन्तले स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीको सचिवालयमा समेत सम्बोधन गर्नका लागि पहल गर्दा कुनै जवाफ नआएको बताएका थिए।

मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका आचार्यको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो। आचार्यले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए।

स्टाटसमा उनले ३६ वर्ष पुगिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको, व्यवसाय गर्दा, उद्योग चलाउँदा समस्या भोग्नुपरेको उल्लेख गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका ४ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

११ माघ २०७९, बुधबार २१:१४
सुर्खेत।​कर्णाली प्रदेशमा आज चारजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन्। पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त राजकुमार शर्माले बुधबार मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्। मन्त्रिमण्डलमा नेकपा एमालेका तर्फबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री टेकराज पछाई र जितबहादुर मल्लले उद्योग पर्यटन, वन तथा […]