काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। बैठक सोमबार दिउँसो २ बजे बस्ने काँग्रेसले जनाएको छ।१४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो। काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको बताए।
बैठकमा केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्यसचिव पौडेलले जानकारी दिए। एक नेताकाअनुसार बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन लगायत विषयमा निर्णय गर्नेछ। काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो।
यसपटक रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहित महाधिवेशनमा छुटेका नेताहरू समेत बैठकमा सहभागी हुनेछन्। देउवाले पौडेल र सिटौलासहित १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।