काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरूको बैठक बोलाएका छन्।महाधिवेशनपछि पार्टीभित्रको शक्ति संघर्षमा नयाँ ध्रुवीकरण भएको अवस्थामा सभापतिका प्रत्यासी कोइरालाले आफूनिकट नेताहरूसँग महाधिवेशनको समीक्षा र भावी रणनीतिका विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।
बैठक बुधबार दिउँसो २ बजे हनुमानस्थानस्थित बसेरा होटलमा बस्ने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। एक नेताका अनुसार बैठकमा कोइराला समूहबाट पदाधिकारीसहित केन्द्रीय सदस्य पदका सबै उम्मेदवारहरूलाई बोलाइएको छ।
महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू ईतर परेको मतलाई अपमान गरेको ठहर गरेको कोइराला पक्षले बैठक गरी सामूहिक धारणा बनाउन लागेको हो। सो समूहका नेताहरूबीच हिजो पनि छलफल भएको थियो। सभापति देउवाले आफ्नो समूहलाई बेवास्ता गरेको निष्कर्ष छलफलबाट निकालिएको थियो।
सभापति देउवाले राष्ट्रिय सभाको निर्वाचनको टिकट वितरणका क्रम देखाएको रबैयाले पनि उहाँ आफू ईतर समूहलाई पेलरै जाने मुडमा रहेको संकेत गरेको ठहर नेताहरुले गरेका थिए। कोइराला समूहको बैठकमा सो समूहबाट पदाधिकारी तथा केन्द्रीय समितिमा चुनाव लडेकाहरुसहित अन्य समर्थकहरूलाई पनि बोलाइएको छ।