धनगढी।नेपाली कांग्रेसका नेता कमल शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।प्रदेश प्रमुख देवराज जोशीले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनेछन्।
संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका राजेन्द्र सिंह रावलले प्रदेशसभामा विश्वासको मत नपाएपछि धारा १६८ (३)अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। शाहले एक महिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो।सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीको ७ जना सांसद छन्। नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्।

