विराटनगर । बिजुलीको हाइटेन्सन लाइन प्रशारण भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवकलाई त्यहाँबाट झार्न सुरक्षाकर्मीहरुले प्रयास जारी राखेका छन् ।
बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष आएर बाटो निर्माणमा भएको अनियमितता सार्वजनिक गरी काम नरोके सम्म पोलबाट नझर्ने भन्दै स्थानीय दिनेश कुमार माझीले अड्डी कसेपछि ८ घण्टादेखि उनको उद्धार हुन सकेको छैन ।
सुरक्षाकर्मीले निरन्तर प्रयास गरे पनि उनी पोलबाट झर्न मानेका छैनन् ।१ लाख ३२ हजार भोल्ट विद्युत् दौडिरहेको पोलमा उनी ८ घण्टादेखि बसिरहेका छन् । पोलमा मानिस चढेको जानकारी गराएको भएपनि नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको छैन ।
उद्धार गर्न १५र२० मिनेटका लागि विद्युत् बन्द गर्न सकिने तर लामो समय विद्युत् बन्द गर्न नसकिने प्राधिकरणले सुरक्षाकर्मीलाई जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने प्रयास भइरहेको बताए ।
उनले भने ‘हामीमाथि चढेर उनलाई झार्न सक्छौँ तर हामी उद्धारका लागि माथि चढ्दा उनी हाम्फाल्ने खतरा छ त्यसैले उद्धार गर्न कठिनाइ भएको छ ।’
माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका हुन् ।उनले गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरूले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त राखेका छन् ।
तर आज गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जिल्ला बाहिर धनकुटा गएका छन् । जसले गर्दा उनको माग पुरा गर्न सकिएको छैन ।अध्यक्ष थापा धनकुटाबाट फर्किँदै गरेको दाहालले जानकारी दिए ।