मोरङ ।कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र पछाडि हटेपछि नेपाली कांग्रेसका केदार कार्कीको सम्भावना बलियो भएको छ।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबीका लागि शुक्रबार ५ बजेसम्मका लागि समय तोकेका थिए। कार्की र माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले बिहीबार नै दाबी पेश गरेका थिए।
मुख्यमन्त्रीमा दुई जनाले दाबी पेश गरेपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदको सनाखत गर्ने तयारी गरेको छ। मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन कांग्रेसका ८ र एमालेका ३९ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा छन्।
यसक्रममा मुख्यमन्त्रीका दाबेदार कार्की र समर्थक नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई बोलाएर प्रदेश प्रमुख खापुङले शनिबार दिउँसो १ बजे सनाखत गर्ने समय प्रस्ताव गरेका थिए।
मुख्यमन्त्रीका दाबेदार कार्कीले हस्ताक्षर आजै सनाखत गर्न आग्रह गरेका थिए। कार्कीले भने, ‘हामी सबै आएका छौँ। आजै गरौँ भनेका छौँ। तर, उहाँले भोलि भन्नु भएको छ।’
यसैबीच प्रदेश प्रमुख खापुङको सो प्रस्ताव सुरुमा नमानेका नेताहरू शनिबार दिउँसो २ बजेसम्म हस्ताक्षर सनाखत गर्न तयार भएको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार शनिबार दिउँसो सनाखत गर्ने सहमति भएको छ। यससँगै प्रदेश प्रमुखको कार्यालयले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताको समर्थनमा हस्ताक्षर गरेका सदस्यलाई प्रदेश सभाको परिचयपत्रसहित उपस्थित हुन आह्वान गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कोशीको मुख्यमन्त्री माओवादीलाई दिएर कर्णालीको मुख्यमन्त्री कांग्रेसले लिने प्रस्ताव नेता शेखर कोइरालासमक्ष गरेका थिए। स्रोतका अनुसार कोइरालाले देउवाको उक्त प्रस्ताव अस्वीकार गरेका छन्।