काठमाडौँ । नेपाली कांग्रेसको सभापति चयनका लागि हुने दोस्रो चरणको मतदान मंगलवार साढे ३ बजेदेखि शुरू हुने भएको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो ।
मतदानको अवधि साढे ७ बजेसम्मका लागि तोकिएको छ । पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले २२५८ मत प्राप्त गरेका थिए । सभापतिका अर्का प्रत्यासी डा। शेखर कोइरालाले १७०२ मत प्राप्त गरे । यस्तै प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २५० मत प्राप्त गरे । सभापतिका पाँचौं प्रत्यासी कल्याण गुरुङले भने २२ मत मात्रै प्राप्त गरे ।
अब धेरै मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ । सोमवार मध्यरातसम्म चलेको मतदानमा ४ हजार ७४३ मध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए । सभापतिको मतगणना गरेपछि मात्र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुनेछ ।