काठमाडौँ ।नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। एक सभापति, दुई उपसभापति र महामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ।
अहिले आठ सहमहामन्त्रीको मतगणना जारी छ। जसमध्ये २ सहमहामन्त्रीको समेत मत परिणाम आइसकेको छ। बिहीबार राति सहमहामन्त्रीतर्फ दलितको मत परिणाम आएको छ। जसमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका जीवन परिवार दलिततर्फ कांग्रेस सहमहामन्त्री विजयी भएका छन्।
उनले सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवार मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन्। विजयी परियारले २२१२ मत पाउँदा प्रतिद्वन्द्वी विश्वकर्माले २१७५ मत ल्याए।त्यस्तै अर्का उम्मेदवार गंगा सुनारले २३२ मत पाइन। दलिततर्फको महामन्त्रीमा कूल ४६९४ मत खसेको थियो। जसमा ७५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
यसअघि महिला र जनजातितर्फको सहमहामन्त्रीमा क्रमशः महालक्ष्मी उपाध्याय (डीना), र भीष्मराज आङदेम्बे निर्वाचित भए। उपाध्याय र आङदेम्बे दुवै सभापति देउवा प्यानलका हुन्।
महिला सहमहामन्त्रीमा डिनाले कोइराला प्यानलकी कमला पन्त र आङदेम्बेले विकास लामालाई पछि पारेका थिए।निर्वाचन समितिका अनुसार सहमहामन्त्रीमध्ये मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खसरआर्यको मतगणना हुन बाँकी छ।