झापा।नेकपा एमालेका झापा जिल्ला कमिटी सदस्य डिल्ली घिमिरेले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।काँकरभिट्टा निवासी एमालेका जिल्ला कमिटी सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटिका संयोजकसमेत रहेका नेता घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका हुन्।
नेता घिमिरे वैशाख ३० का लागि तय भएको स्थानीय तह निर्वाचनका लागि एमालेका तर्फबाट मेचीनगरको नगरप्रमुख पदको आंकाक्षी थिए। उम्मेद्वार छनोटका लागि भएको पार्टीको आन्तरिक चुनावमा घिमिरे सिफारिसमा परेनन्।उम्मेदवार छनोटका क्रममा नेताहरुले आफू बिरुद्ध षड्यन्त्र गरेर उम्मेद्वारका रुपमा छनोट हुन नदिएको नेता घिमिरेले आरोप लगाएका छन्।नेता घिमिरेले पार्टी निर्माण र संगठन बिस्तारसंगै जनसेवामा समर्पित हुँदासमेत एमालेले आफ्नो योगदानको कदर नगरको बताउँदै पार्टी छोडेको बताए।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आदरणीय मेरा सहयोगी मित्रहरू पटकपटक म माथि भएको अन्याय सहन सकिन एउटैलाई थपीथपि जिम्मेवारी र अरुलाई अवसरबाट बन्चित गर्ने चरम गुडबन्दीका नाइके हरुसँग बसेर पटकपटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मिति बाट नेकपा एमाले को सम्पूर्ण जिम्मेवारीबाट बिदा लिए मलाई माया गर्नुहुने सम्पूर्ण मित्रहरूसँग क्षमा चाहान्छु।’