काठमाडौँ ।नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा पराजय भोगेपछि उनले रक्षामन्त्रीबाट राजीनामा दिएका हुन्।
उनले मतगणनाको पूर्ण विवरण आएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाउने ट्वीटरमार्फत जानकारी दिएका हुन्।‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु’, उनले ट्वीट गरेका छन्।
कांग्रेस महाधिवेशनअन्तर्गत अहिले महामन्त्रीको मतगणना जारी रहेको छ। महामन्त्री पदको जारी मतगणनामा उनी पाँचौं नम्बरमा रहेका छन्।शेखर कोइराला प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएका उनीसँगैका गगन थापा भने पहिलो नम्बरमा रहेका छन्।
नेता रिजालले आफू राजीनामा दिने तयारीमा रहेको र मतपरिणाम सार्वजनिक भएपछि राजीनामा प्रधानमन्त्रीसमक्ष बुझाउने बताएका छन्। महाधिवेशनमा प्रधानमन्त्रीसमेत रहेका देउवाविरुद्धकाे प्यानलबाट महामन्त्री उम्मेदवार बनेका उनले पराजित हुने देखिएपछि नैतिकताकाे आधारमा राजीनामा दिने भएका हुन्।
उनी शशांक काेइरालाकाे काेटाबाट देउवा नेतृत्वकाे सरकारमा सहभागी भएका थिए। कांग्रेस महाधिवेशनमा उनलाई सभापति देउवालाई समर्थन गर्न काेइरालाले भनेका थिए तर रिजालले शेखर काेइराला प्यानलबाट निर्वाचनमा हाेमिएपछि शशांकले उनलाई राजीनामा दिन दबाब दिएकाे स्राेतले बताएकाे छ।