विजेता खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगे खेलकुदमन्त्री अथक

कर्णाली अनलाइन १६ पुष २०७८, शुक्रबार १०:१४

काठमाडौं। एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई स्वागत गर्न खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथक स्वयम् विमानस्थल पुगेका थिए ।

प्रतियोगितामा अपराजित रहँदै नेपाली महिला राष्ट्रिय भलिबल टोलीले उपाधि जितेको थियो । ६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पराजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो ।

साविकको बिजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष टिम भने चौथो स्थानमा रोकिन पुगेको थियो । पुरुष टीम पनि स्वदेश फर्केको छ । विमानस्थलमा प्रतिक्रिया दिँदै मन्त्री गहतराजले टिमका खेलाडीहरुलाई स्वागत गर्ने अवसर प्राप्त भएकामा खुसी ब्यक्त गरे ।

महिला टिमले उपाधि रक्षा गरेको खबर प्राप्त भएलगत्तै बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बिजेता खेलाडीहरुलाई जनही ५ लाखको दरले पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै मन्त्री गहतराजले आगामी दिनमा थप जिम्मेवार र लगनशिल भएर खेल्न खेलाडीहरुलाई आग्रह समेत गरे ।

स्वागत पछि बोल्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले बिजेता खेलाडीहरुलाई नगद राशिले सम्मान गर्ने सरकारको निर्णयले थप हौसला बढाएको बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेमकिपाद्धारा एमसीसीविरुद्ध प्रदर्शन

१६ पुष २०७८, शुक्रबार १०:१४
काठमाडौँ।नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको छ।नेमकिपाले शुक्रबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा एमसीसीविरुद्ध प्रदर्शन गरेको हो। एमसीसी राष्ट्रघाती रहेको भन्दै स्वीकार्न नहुने उसको माग छ। विरोधमा नेमकिपाले संघीय संसद घेराउ गरेको छ।