‘सरकार परिवर्तन हुने बित्तिकै राजदूत फिर्ता बाेलाउने प्रवृत्ति अन्त्य गरिनुपर्छ’:डा. रावल

कर्णाली अनलाइन १६ पुष २०७८, शुक्रबार १०:३८

काठमाडौँ ।सरकार परिवर्तन हुने बित्तिकै राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । आज शुक्रवार प्रतिनिधि सभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले सरकार परिवर्तन भएसँगै राजदूतहरूलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद डा. भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो । यसरी समयअघि नै राजदूतलाई फिर्ता बोलाउनाले विश्वमा सरकार कमजोर हुने उहाँले बताउनुभयो । नेपालको कुटनीतिक क्षेत्र सुदृढ र प्रभावकारी नबनेको उल्लेख गर्दै उहाँले समयअनुकूल काम गर्न नसक्ने अवस्थामा पुगेको पनि बताउनुभयो ।

रावलले भन्नुभयो, ‘हामीले कुटनीतिक नियोगमा पठाउने भनेकाे त राष्ट्रको हितको साधना गर्ने, त्यो देशको प्रतिनिधित्व गर्ने व्यक्ति हो । अनि एउटा मन्त्री फेरियो, राजदूत पनि फेरियो । यो बेथितिलाई बन्द गर्नुपर्छ । कुटनीतिक क्षेत्रमा पनि यो हुनु भनेको के हो भने अन्ततः आजको प्रतिस्पर्धी विश्वमा विभिन्न दृष्टिकोणबाट राज्य एकदमै कमजोर हुने र हाम्रो कुटनीतिक क्षेत्रको केही वर्षयताको तुलना गर्‍याैँ भने त्यसमा कुनै सुदृढीकरण, प्रभावकारिताभन्दा पनि युगअनुकूल काम गर्न नसक्ने अवस्थामा पुगेको जस्तो आभास हुन्छ । भाषा, कुटनीतिक विषयको ज्ञान, त्यो देश बारेको ज्ञान, त्यहाँको परिवेशको जानकारी राख्ने हुनुपर्छ ।’

सांसद रावलले साना देशका लागि कुटनीतिक क्षमता वृद्धि गर्नु देशको अस्तित्वसँग गाँसिने तर्क गर्नुभयो । त्यसैगरी उहाँले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै देशको सुरक्षा गर्नु र नागरिककाे सुरक्षा गर्नु सरकारकाे प्रमुख कर्तव्य भएको बताउनुभयो । नेपालको सिमाना मिचिँदा पनि परराष्ट्र मन्त्रालय मौन बसेको उहाँले बताउनुभयो ।

बैठकमा बोल्दै सांसद पुष्पा भुसालले सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउनुले राम्रो सन्देश नगएको टिप्पणी गर्नुभयो । उहाँले निश्चित समयसम्म राजदूतलाई फिर्ता बोलाउन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘राजदूत नियुक्ति गरिसकेपछि देशकाे सरकार परिवर्तन हुनेबित्तिकै राजदूतलाई फिर्ता गर्ने जुन अभ्यास र प्रचलन अगाडि आयो यसको सन्देश त्यति राम्रो जान नसकेको हामीले अनुभुति गरेको हुनाले कम्तीमा यति समयअघि नै फिर्ता गर्न नमिल्ने भनेर एउटा छलफल, संवाद चलाउन सक्छौँ ।’

सांसद भुसालले नेपालमा सरकार परिवर्तन भइरहने भन्दै राजदूत परिवर्तन भइरहँदा दुई देशबीचकाे सम्बन्धमा समेत असर पर्ने धारणा राख्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्रान्सफर्मर परिवर्तन गर्दा बत्ती गएको हो,आजबाट समस्या समाधान हुन्छ: कार्यकारी निर्देशक घिसिङ

१६ पुष २०७८, शुक्रबार १०:३८
काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताउनुभएको छ । आज शुक्रवार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आज शुक्रवारदेखि यो समस्या समाधान हुने बताउनु भएको हो […]