ट्रान्सफर्मर परिवर्तन गर्दा बत्ती गएको हो,आजबाट समस्या समाधान हुन्छ: कार्यकारी निर्देशक घिसिङ

कर्णाली अनलाइन १६ पुष २०७८, शुक्रबार १०:५५

काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताउनुभएको छ । आज शुक्रवार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आज शुक्रवारदेखि यो समस्या समाधान हुने बताउनु भएको हो ।

घिसिङले विद्युत आपूर्ति नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आए पनि आपूर्ति गर्ने स्थितिमा रहेको बताउनुभयो । उहाँले काठमाण्डाै उपत्यकामा अब नाै वटा सबस्टेशन थपिने भएकाले ती सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा दुई हजार मेगावाटको विद्युत् आपूर्ति गर्न सक्ने बताउनुभयो । प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरमा आगलागी भएका कारणले यी समस्या आइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगत तीन/चार दिनदेखि विद्युत आपूर्तिमा केही समस्या देखियो भन्ने जनगुनासो आयो । यो समस्या देशभित्र सबैतिर भएको समस्या होइन, काठमाण्डाैमा मात्रै हो । यो आपूर्तिकाे कारणले भएको समस्या होइन । काठमाण्डाैका सबै ठाउँमा यो समस्या आएको पनि होइन । केही ठाउँमा मात्र समस्या भएको हो । अहिले हाम्रो विद्युतको बेलुकाको पिक लोड झन्डै १७ सय मेगावाट र बिहानको झन्डै साढे १५ सयदेखि १६ सय मेगावाट पिक लोड आइरहेको छ ।

त्यसमा हामीले आपूर्ति गर्न सकिरहेका नै छौँ । माथिल्लाे तामाकोसी आइसकेपछि बिहान र बेलुकाको पिकलाई सहज भएको छ । काठमाण्डाैमा जाडो बढेलगत्तै विद्युतको खपत बढ्नु स्वाभाविक हो । विगत वर्षभन्दा अहिले ८० देखि १०० मेगावाट काठमाण्डाैकाे लोड बढेको छ । पानी परेपछि ठाउँ–ठाउँमा हाम्रो लोड नसाेचेकाे रूपले बढ्यो । त्यसले गर्दा प्रणालीमा सबस्टेशनबाट फिडर निस्किन्छ, काठमाण्डाैभित्र धेरै सब्स्टेशन छन् जसले काठमाण्डाैभित्रको लोडलाई आपूर्ति गरिरहेको छ । काठमाण्डाै उपत्यकामा मात्रै झन्डै ३७ सय ट्रान्सफर्मर छन् । त्यसबाट नै आपूर्ति हुन्छ । यदि फिडरमा नै समस्या आएको छ भने १०/२० वटा ट्रान्सफर्मरमा समस्या आउने हुन्छ । अहिलेको मुख्य समस्या भनेकाे ट्रान्सफर्मर ओभरलोड भएको हो । लोडअनुसार ट्रान्सफर्मरहरू फेर्ने काम गरिरहेका छौँ ।’

प्रमुख कार्यकारी निर्देशक घिसिङले आजसम्म उपत्यकामा ट्रान्सफर्मरहरू परिवर्तन गरिसक्ने भएकाले बिजुली जाने समस्या नहुने बताउनुभयो । उहाँले केही स्थानमा त्यहाँका बासिन्दाले सबस्टेशन बनाउन नदिएकाले पनि समस्या आउने गरेको भन्दै सबस्टेशन बनाउन दिन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रियसभा सदस्यका लागी एमाले कर्णालीबाट नौ जना सिफारिस

१६ पुष २०७८, शुक्रबार १०:५५
सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रियसभा सदस्यको चुनावमा ९ जनाको नाम सिफारिस गरेको छ । प्रदेश कमिटीको आजको बैठकले कर्णाली प्रदेशबाट रिक्त हुने तीनजना सदस्यका लागि उनीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो । एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलको उपस्थितिमा आज बसेको बैठकले क्लष्टरअनुसार ९ जनाको नाम सिफारिस गरेको एमाले […]