काठमाडौँ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २६ वटा सवारी चालक अनुमति पत्र निलम्बनका लागि बुधबार यातायात व्यवस्था विभाग मिनभवन पठाएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको हो।
निलम्बनका लागि पठाइएकामध्ये एक जना चालकले ३८ पटकसम्म सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका सह–प्रवक्ता अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए।