काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी थुनामुक्त भएका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आवश्यक परेको बेला उपस्थित हुने शर्तमा उनीहरुलाई छाडिदिएको हो।
आवश्यक परेको बेला उपस्थित हुने गरी सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई मंगलबार छाडिएको सीआईबीका प्रमुख धीरजप्रताप सिंहले बताए।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ परेका थिए।
ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। तर, अनुसन्धान नपुगेको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फर्काइदिएको छ।

