जाजरकोटमा भूकम्प अपडेट- दुई जिल्लामा गरी १२८ जनाको मृत्यु

कर्णाली अनलाइन १८ कार्तिक २०८०, शनिबार ०८:२७


सुर्खेत।जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २८ जनाको मृत्यु भएको छ । जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको हो ।

५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको छ । ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ,’ प्रवक्ता कडायतले भने । थप विवरण संकलन हुँदैछ ।

त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ । जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको मृत्यु भएको हो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको सयुक्त टोली दुबै जिल्लामा उद्धारमा खटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले बताए । उनका अनुसार भूकम्पका कारण मध्यपहाडी लोकमार्गको कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि दुई स्थानमा पहिरो जाँदा अवरुद्ध छ । यसकारण पनि उद्धारमा समस्या भइरहेको छ । जाजरकोट र रुकुम पश्चिमका ग्रामीण क्षेत्रबाट घाइतेहरुको उद्धारका लागि हेलिकप्टको खाँचो छ । त्यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको छ । दुवै जिल्लाका अवरुद्ध सडक खुलाउनका लागि पहल भइरहेका छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोटको ६.४ को भुइँचालोको केन्द्र जमिनबाट १० किलोमिटर तल

१८ कार्तिक २०८०, शनिबार ०८:२७
सुर्खेत।पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको भुइँचालो गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ म्याग्निच्युडभन्दा माथिका तीनवटा परकम्प गएका छन् । ‘गएरातिको भूकम्प आफैंमा परकम्प हो,’ केन्द्रका एक भूकम्पविद्ले […]