हिउँमा फसेका बाबुछोराको पाँच दिनमा पनि उद्धार हुन सकेन

कर्णाली अनलाइन १८ पुष २०७८, आईतवार १०:३७

ताप्लेजुङ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन। आइतबार बिहान दुई पटक हेलिकोप्टरले उद्धारको प्रयास गरे पनि सफल भएको छैन।पाँच दिनअघि आएको हिउँ पहिरोले अन्दाजी ५०–५५ वर्षका लाक्पाटाँसी र उनका १४–१५ वर्षीय छोरा पासाङ शेर्पालाई बगाएको हो।

‘चौरीसँगै हिउँ पहिरोले बगायो। तर, ओढार भेटेर बसेका छौँ। हामी निस्कन नसक्ने भयौँ। हेलिकोप्टरबाट निकालिदिनु’ भन्दै शनिबार बिहान फोनबाट आग्रह गरेको मिक्वाखोला गाउँपालिका–५ का वडा अध्यक्ष डण्डु शेर्पाले बताए । समुद्र सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौंरी गोठ सार्ने क्रममा उनीहरू हिउँमा फसेको हुन्।

शनिबार बिहान पनि हेलिकोप्टरमार्फत उनीहरूको उद्धार प्रयास भएको थियो। तर, कुन ठाउँमा बसेको छन् मेसो नपाएपछि हेलिकोप्टर त्यसै सुकेटार विमानस्थल फर्केको थियो।

आइतबार बिहान पनि उद्धारका लागि दुई पटक सुकेटरबाट पापुङको लोनाकमा हेलिकोप्टर गएको थियो। आज पनि उनीहरू बसेको ठाउँ पत्ता नलागेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए। फोनसम्पर्क भएकाले बाबुछोरा बसेको ठाउँमा आगो बालेर धुवाँ निकाल्न अनुरोध गरेको पाण्डेले बताए। धुवाँ निस्केपछि ठाउँ पहिचान गरेर हेलिकोप्टरमार्फत उद्धार गर्ने पाण्डेको भनाइ छ।@रासस


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीवनबहादुर शाही, प्रदीप पाैडेल र कल्याण गुरुङ केन्द्रीय सदस्यमा मनाेनीत

१८ पुष २०७८, आईतवार १०:३७
काठमाडौँ।नेपाली कांग्रेसका थप तीन नेता केन्द्रीय सदस्यमा मनाेनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले जीवनबहादुर शाही, प्रदीप पाैडेल र कल्याणकुमार गुरुङलाई आज आइतवार केन्द्रीय सदस्यमा मनाेनीत गर्नुभएकाे हाे । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल […]