विद्युत् प्राधिकरणको सामान नेपाल एयरलाइन्सबाट ल्याइने समझदारीपत्रमा हस्ताक्षर

कर्णाली अनलाइन १९ पुष २०७८, सोमबार १०:३८

काठमाडौँ।नेपाल विद्युत् प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एमओयूमा हस्ताक्षर गर्नुभएको हो ।

अब प्राधिकरणका कर्मचारी र कर्मचारीका परिवारले निगमको जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा टिकटमा १५ प्रतिशत छुट पाउने छन् ।  कर्मचारीले छुट पाउन प्राधिकरणको सिफारिस पत्रका साथै परिचयपत्र अनिवार्य रुपमा पेस गर्नुपर्ने छ । निगमको बिक्री कार्यालयबाट टिकट खरिद गर्नेले मात्र छुट सुविधा पाउने छन् ।

प्राधिकरणले निगमको उडान गन्तव्य रहेका ठाउँबाट कार्गो ढुवानी गर्दा परिमाणका आधारमा ५/१० प्रतिशत छुट पाउने छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म अन्तर्राष्ट्रिय यात्रा गर्दा निगमको जहाजमार्फत गर्न परिपत्र गर्ने व्यवस्था एमओयूमा गरिएको छ ।

मन्त्री आलेले डुब्न लागेको प्राधिकरणलाई उकास्न त्यहाँको व्यवस्थापनले चालेको कदमबाट पाठ  सिकेर काम गर्न निगम व्यवस्थापनलाई आग्रह गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय उडानका लागि जहाज थप्ने विषयमा निगम व्यवस्थापनले व्यापारिक योजना तयार गरी सञ्चालक समितिमा पेस गरिसकेकाले यस बारेमा छिट्टै निर्णय गरिने बताउनुभयो ।

सचिव न्यौपानेले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य, घाटाको संस्थाको वित्तीय तथा प्रशासनिक अवस्थालाई सुधार गरी नाफा आर्जन गरेको जस्ता प्राधिकरणका सफलतालाई मानक बनाएर निगम व्यवस्थापनले आफ्नो सेवालाई नियमित र भरपर्दो बनाउनु पर्ने बताउनुभयो ।कार्यकारी निर्देशक घिसिङले सम्झाैतामा गरिएका व्यवस्था कार्यान्वयका लागि तत्काल परिपत्र गरिने बताउनुभयो ।

 

अन्तिम अपडेट: पुस १९, २०७८


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुम पूर्व:हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार

१९ पुष २०७८, सोमबार १०:३८
रुकुम पूर्व। गएकाे एक हप्तादेखि हिउँमा फसेका १४ मजदुरको हेलिकप्टरबाट उद्धार गरिएको छ । रुकुम पूर्वकाे पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा १४ मजदुर गएकाे सात दिनदेखि हिउँमा फसेका थिए । हिजो आइतवार मजदुरहरू हिउँमा फसेको थाहा पाउनेबित्तिकै प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले उद्धारका लागि गृह मन्त्रालय, प्रदेश मन्त्रालयमा हेलिकप्टर पठाउन पहल गर्नुभएको […]