स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले के गर्न पाउँछन् के गर्ने पाउँदैनन्?

कर्णाली अनलाइन ३ चैत्र २०७८, बिहीबार १५:२६

सुर्खेत।वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले के–के गर्न पाउँछन्? उम्मेदवारी दर्तादेखि निर्वाचन प्रचार–प्रसार र मतदान अगाडिसम्मका गतिविधि आचार संहिताभित्र रहेर गर्नु पर्नेछ। निर्वाचन आयोगले निर्वाचन आचार संहिता २०७८ मा दल र उम्मेदवारका लागि छुट्टै व्यवस्था गरेको छ।

सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै सभा जुलुस गर्न नपाइने भएको छ। त्यस्तै जुलुस, आमसभा, कोणसभा, बैठक तथा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने छ। कसैको घरको आसपासमा गइ निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नपाइने प्रावधान निर्वाचन आचार संहिता २०७८ मा छ।

राजनीतिक दलले जुलुस कोणसभा गर्दा स्थानीय तहको प्रशासनको अनिवार्य रुपमा अनुमति लिनुपर्ने प्रावधान छ। त्यस्तै त्यस्ता कार्यक्रम गर्दा स्थान र समयबारे स्थानीय प्रहरीलाई ७२ घण्टा अगावै जानकारी दल र उम्मेदारले गराउनु पर्नेछ।

जुलुस वा आससभा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह झण्डा अंकित लोगो वा स्टिकर वा कपडा वा क्याप, भेस्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नपाउने भएका छन्।

त्यस्तै घर वा जग्गा धनीको अनुमति नलिइ कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न नपाइने भएको छ। दलले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला र प्रचार–प्रसार साँझ ७ बजेसम्म मात्रै गर्न पाउने भएका छन्।

अनलाइन वेब पेज, टिभ पेज, टिभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम काउन्टर, सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचार गर्न वा गराउन नहुने, भित्ते लेखन गर्न नपाउने र प्रचार गर्न नपाइने भएको छ।

राजनीतिक दलले प्रचारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नामबाट आयोगमा बुझाएर अनुमति दिएको खण्डमा मात्रै मुख्य प्रचारकले हेलिकप्टरको प्रयोग गर्न सक्ने प्रावधान आचार संहितामा राखिएको छ।

आचार संहिताको परिच्छेद ९ मा स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहको अनुदान प्राप्त संस्थाबाट सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेका निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गर्नु अगावै बहाल रहेको पदबाट राजिनामा दिनु पर्ने प्रावधान छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तहको चुनाव प्रचारमा दलको झण्डा वा चुनाव चिह्न अंकित टोपी टिसर्ट लगाउन नपाइने

३ चैत्र २०७८, बिहीबार १५:२६
काठमाडौं।स्थानीय तहको निर्वाचनमा जुलुस वा आससभा भाग लिने वा प्रचार–प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह झण्डा अंकित लोगो वा स्टिकर वा कपडा वा क्याप, भेस्ट टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नपाउने भएका छन्। तर,उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा)को विवरण […]