किन निलम्बनमा परे गभर्नर महाप्रसाद अधिकारी?

कर्णाली अनलाइन २६ चैत्र २०७८, शनिबार ००:५८

काठमाडौँ।गठबन्धन र खासगरी माओवादीको मुट्ठीमा कसिँदै गएका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई शुक्रबार निलम्बन गरेका छन्। गभर्नर अधिकारीलाई निलम्बन गरिएको पत्र शुक्रबार बुझाइएको स्रोतले जानकारी दिएको छ।उनलाई निलम्बन गरिएपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।

स्थानीय निर्वाचन आचारसंहिता लागू हुनुभन्दा एक दिनअघि अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीप्रति मन्त्रिपरिषद्‌मा प्रश्न उठाएका थिए। त्यसको भोलिपल्टै उनलाई निलम्बन गरिएको हो।

अर्थतन्त्रका सबै सूचकांकहरु नकारात्मक वा त्यसतर्फ जाने देखिएपछि उनलाई निलम्बन गरिएको भनिए पनि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीको सार्वजनिक जानकारीमा रहेको मतभेदका सन्दर्भमा यो घटना आएको छ।

अमेरिकाबाट नेपाल पठाइएको ४० करोड रुपैयाँ अमेरिकाका सम्बन्धित सरकारी निकायले मनी लन्डरिङको मामिला भन्दै छानबिन गर्न नेपाल सरकारलाई दबाब दिएको र यसमा राष्ट्र बैँकले छानबिन अगाडि बढाउँदै भुक्तानी रोक्का गरेपछि अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँग चिढिएका थिए।शर्माले त्यो रकम भुक्तानी दिन लिखित निर्देशनसमेत जारी गरेका थिए।

यसअघि राष्ट्रबैँकको नीति र अनुमोदनपछि अगाडि बढेको हिमालयन बैँक तथा नेपाल इन्भेस्टमेन्ट बैँकको मर्जर प्रक्रियामा पनि  अर्थमन्त्रीले नकारात्मक भूमिका खेलेका थिए।

त्यस्तै, विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले गभर्नरबारे अध्ययन गर्न मन्त्रीहरुको अनौपचारिक टिम नै बनेको थियो जसमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ थिए।

उनलाई निलम्बन गरिएसँगै उनीमाथि लागेको आरोपबारे छानबिन गर्न पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति बनेको छ । समितिलाई अधिकारीमाथि लागेको आरोपबारे छानबिन गरेर एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ।@RSS


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुसद्वारा युक्रेन युद्धमा खटिएका सैन्य कमान्डर हेरफेर

२६ चैत्र २०७८, शनिबार ००:५८
एजेन्सी।रुसले युक्रेन युद्धको जिम्मेवारीमा रहेका आफ्ना सैनिकको नेतृत्व परिवर्तन गरेको पश्चिमा अधिकारीले बताएका छन्। रुसले युक्रेन आक्रमणको नेतृत्व गरिरहेका सैनिकहरुको जिम्मेवारी हेरफेर गरेको पश्चिमा अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। रुसले सिरिया युद्धमा लामो अनुभव लिएका जनरललाई युक्रेन युद्धमा रहेका आफ्ना सैनिकको कमाण्डरको ठाउँमा पठाएको अधिकारीले बताएका हुन्।नाम उल्लेख नगर्ने […]