श्रीलङ्काका अर्थ मन्त्रीद्वारा नियुक्त भएकाे एक दिनमै राजीनामा

कर्णाली अनलाइन २२ चैत्र २०७८, मंगलवार १२:३६

एजेन्सी।श्रीलङ्काका अर्थ मन्त्री अली साबरीले नियुक्त भएको एक दिनमै राजीनामा दिनुभएको छ । हिजो साेमवार बिहान २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले साबरीलाई अर्थ मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर उहाँले आज मङ्गलवार राष्ट्रपतिलाई पत्र लेखेर राजीनामा दिनुभएको हो ।

साबरीले आफूले धेरै सोचविचार गर्दा देशको बिग्रिएको अर्थतन्त्र सुधार्नका लागि उत्कृष्ट सोच र व्यक्ति चाहिएकाले राजीनामा दिएको बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ ।

साबरी अस्ति आइतवारसम्म न्याय मन्त्रीका रूपमा रहनुभएको थियो भने हिजो २६ जनासँगै सामूहिक राजीनामा दिनुभएको थियो, त्यही दिन बेलुका उहाँले फेरि अर्थ मन्त्रीको रूपमा शपथ लिनुभएको थियो ।

श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएसँगै नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् । कागज किन्ने पैसा नहुँदा माध्यमिक तहका विद्यार्थीको परीक्षा रोकिएको छ, केही अस्पतालमा शल्यक्रिया प्रभावित भएको छ । डिजल/पेट्रोल नहुँदा सार्वजनिक गाडी र ठूला उद्योग पनि बन्द भएका छन् । देशमा दैनिक १६ घण्टाभन्दा धेरै लोडशेडिङ सुरु भएको छ ।

अर्थ व्यवस्था बिगारेको भन्दै नागरिकले राष्ट्रपतिको राजीनामा माग गर्दै आन्दोलन चर्काएपछि राजधानी कोलम्बोसहितका केही सहरमा सरकारले कर्फ्यु लगाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लो चौबिस घण्टामा थप २४ जनामा कोरोना पुष्टि

२२ चैत्र २०७८, मंगलवार १२:३६
काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २४ जनामा कोरोना पुष्टि भएको हो। आज ५ हजार ५ सय ८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। सोमबार ३ हजार २७८ जनाको पीसीआर र […]