काठमाडौँ।सातै प्रदेशका नौ अस्पतालबाट रेबिजविरुद्धको खोप दिने घोषणा सरकारले गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा अहिलेसम्म काठमाडौँबाट मात्रै दिइँदै आएको रेबिजविरुद्धको खोप सेवा बिस्तार गर्ने घोषणा गरेका हुन्।
मंसिर ५ गते अर्थात आउँदो आइतबारदेखि प्रदेश १ मा कोशी अस्पताल विराटनगर, प्रदेश २ मा जनकपुर अस्पताल धनुषा तथा नारायणी अस्पताल वीरगञ्ज, बागमती प्रदेशमा मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठान हेटौँडा तथा भरतपुर अस्पताल चितवनबाट रेबिजविरुद्धको सुई सेवा सुरु हुने मन्त्री खतिवडाले जानकारी दिएका छन् ।
यस्तै गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा लुम्बिनी अस्पताल बुटवल, कर्णालीको सुर्खेत अस्पताल तथा सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढीबाट सेवा दिइने भएको हो ।
हालसम्म टेकु अस्पतालबाट मात्रै यो सेवा प्रदान हुँदै आएको थियो । रेबिज लागेको कुकुरको टोकाइबाट मानिसमा रेबिज रोग्ने सर्ने गरेको छ ।टेकु अस्पतालमा आउनेहरुको तथ्यांकको विश्लेषण गर्दा हरेक वर्ष १५ देखि ३६ जनाको रेबिजका कारण मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ । रेबिज लागेमा निको हुँदैन । यस्तै यसविरुद्ध खोप लगाउनु नै उक्तम उपाय रहेको छ ।
७० प्रतिशत कुकुरहरुमा खोप लगाउन सकिएमा संक्रमण रोक्न सकिने र अहिले कुकुरलाई खोप लगाउने कार्य पशुसेवा विभागले गरिरहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।काठमाडौँमा मात्रै अहिले एक लाख भन्दा बढी छाडा कुकुर रहेको अनुमान छ । रासस