सुर्खेत ।कर्णाली प्रदेश लोकसेवा आयोगले आगामी पुसको अन्तिम मंगलबार रिक्त दरबन्दी पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरी कर्मचारी माग गर्ने तयारी गरेको हो । आयोगले सहायक पाँचौं तहका प्राविधिक र अप्राविधिक (नायव सुब्बा) पदका कर्मचारी पूर्तिका लागि पुसको अन्तिम मंगलबार विज्ञापन गर्ने कार्यतालिका बनाएको छ ।
नासु तहमा अप्राविधिकतर्फको प्रथम पत्रको परीक्षा फागुनमा सञ्चालन हुनेछ । चैतमा लिखित परीक्षाको नतिजा प्रकाशित गरी वैशाखमा दोस्रो पत्रको परीक्षा लिने कार्यतालिका बनाएको आयोगका सूचना अधिकारी प्रेमप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार सहायक चौथो (खरिदार) तहका अप्राविधिक र प्राविधिकका लागि माघ महिनामा कर्मचारी माग गर्ने आयोगको तयारी छ ।
अप्राविधिकतर्फको प्रथम पत्रको परीक्षा वैशाखमा परीक्षा लिने र जेठमा परीक्षाफल प्रकाशित गर्ने उनले जानकारी दिए । असारमा दोस्रो तहको परीक्षा सञ्चालन गरेर असोज र कात्तिकमा लिखित परीक्षाको अन्तिम नतिजा प्रकाशित गर्ने आयोगको कार्यतालिका छ । सबै परीक्षाहरू पार गरेका अप्राविधिकतर्फका उम्मेद्वारलाई मंसिर वा पुसमा सिफारिस गरिनेछ ।
चौथो तहकै प्राविधिकतर्फका परीक्षा भने जेठमा सञ्चालन हुनेछ । असोज वा कात्तिकमा लिखित परीक्षाको नतिजा प्रकाशित गरेर मंसिर र पुस महिनासम्म सिफारिस गरिसक्ने आयोगको कार्यतालिका छ । कुनै असामान्य परिस्थिति आइपरेमा मात्रै कार्यतालिका पुनरावलोकन गरिने सूचना अधिकारी आचार्यले बताए ।
‘अहिले कर्णालीमा कति दरबन्दी छ र कति खाली छ भन्ने तथ्यांक संकलन भइरहेको छ,’ उनले भने, ‘तथ्यांक प्राप्त हुनेबित्तिकै सोही आधारमा दरखास्त आह्वानका सूचनाहरू प्रकाशित हुनेछन् ।’ उनका अनुसार कर्णालीबाहेक अन्य प्रदेशमा लोकसेवा आयोग गठन गरी विज्ञापन आह्वान गरी कर्मचारी पदपूर्ति भए पनि कर्णालीमा ऐन संशोधन नहुँदा समस्या भएको थियो । कान्तिपुरबाट