सुर्खेत विमानस्थल विस्तार नहुने निश्चित

कर्णाली अनलाइन ३ मंसिर २०७८, शुक्रबार ०७:३९

सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारको काम अनिश्चित बनेको छ । विमानस्थल विस्तार गर्न प्रदेश र संघीय सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भए पनि काम भने अनिश्चित बनेको हो । समझदारी पत्रमा हस्ताक्षर भएको ५ महिनापछि गत वर्ष फागुन २८ गते विमानस्थलको उत्तर र पश्चिमतर्फ मात्रै विमानस्थल विस्तार गर्ने निर्णय भएको थियो ।

विस्तारका लागि जग्गा अधिग्रहण गर्दा आफूहरूको उठीबास हुने भन्दै वीरेन्द्रनगर नगरपालिका–१०, ११ र १२ नम्बर वडाका स्थानीयले अन्य कुनै विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् । स्थानीयको मागलाई साथ दिँदै वीरेन्द्रनगर नगरपालिकाले पनि माघ ५ गते विस्तार कार्य तत्काल रोक्न प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र संघीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई विमानस्थलको विकल्प खोज्नुपर्ने भन्दै पत्र लेखेको थियो । विमानस्थलको धावनमार्ग विस्तार गर्दा नगरपालिकाको १०, ११ र १२ वडाका २ सय ७६ घर, ३ वटा सरकारी विद्यालय, ३ वटा निजी विद्यालय, स्वास्थ्यचौकी, ४ सहकारीलगायत संरचना मासिने नागरिक सरोकार समितिले जनाएको छ । विमानस्थल विस्तार गर्ने भन्दै रोक्का गरिएको जग्गा फिर्ता दिइसकिएको छ । विस्तारको काम कहिले अगाडि बढ्ने भन्ने टुंगो अझै लाग्न सकेको छैन ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले आफूहरूले संघीय र प्रदेश सरकारलाई बारम्बार मागपत्र पेस गरिरहेको बताए । ‘विमानस्थल अहिलेकै ठाउँमा विस्तार हुनुपर्छ,’ उनले भने, ‘विमानस्थल नहुँदा आन्तरिक तथा बाह्य पर्यटक भित्रिन नसकेको अवस्था छ, अहिले यहाँका नागरिकलाई नेपालगन्जदेखि उडान गर्नुपर्ने बाध्यता छ ।’ उनले वीरेन्द्रनगर नगरपालिकाले स्थानीयलाई क्षतिपूर्ति दिन सक्दनौं भनी सरकारलाई पत्र काट्नु गैरजिम्मेवार भएको बताए । ‘नगरपालिका यो कामका लागि पछि हट्नु हुँदैन,’ उनले भने, ‘सरकारकै पैसा दिनुपर्नेमा क्षतिपूर्ति दिन सक्दैनौँ भन्नु गलत हो ।’ उनले ३ सय ५० मिटर मात्रै विस्तार गरे पनि ठूला जहाज अवतरण गर्न पुग्ने दाबी गरे ।

नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख सोहनराज जोशीले तत्कालका लागि विस्तारको काम रोकिए पनि लामो समय नरोकिने बताए । उनका अनुसार नयाँ गठन भएको प्रदेश सरकारको पहलमा चाँडै नै विमानस्थलको काम सुरु हुनेछ । तर काम नभएपछि गत आर्थिक वर्षमा छुट्याइएको प्रदेश सरकारको ५० करोड र संघीय सरकारको ५१ करोड रुपैयाँ बजेट पनि फ्रिज भइसकेको छ । संघीय सरकारले चालु आर्थिक वर्षको बजेटमा सुर्खेत र भरतपुर विमानस्थल विस्तारका लागि डेढ अर्ब रुपैयाँ छुट्याएको छ । प्राधिकरणका अनुसार उत्तरतर्फ ५ सय १० मिटर विस्तार गर्ने गरी प्राविधिक टोलीले अन्तिम नक्सा तयार पारेको छ ।

विमानस्थलको धावनमार्ग १ हजार २ सय ५५ मिटर छ । यसमा ३ सय मिटर बढाएर १ हजार ५ सय मिटर पुर्‍याउने गरी प्रक्रिया अघि बढाइएको थियो । संघीय सरकार र प्रदेश सरकारबीच समझदारी भई अघि बढाइएको प्रक्रिया स्थानीयको अवरोधका कारण रोकिएको हो । यसअघि धावनमार्गको उत्तरतर्फ विस्तारका लागि लम्बाइ ४ सय ६० मिटर, दक्षिणतर्फ करिब २ सय मिटर र चौडाइतर्फ १ सय ६० मिटर क्षेत्र विस्तार गर्ने प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।@nepaliraibar

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पचालझरना गाउँपालिकाद्धारा पशुपालक किसानलाई ‘गोठालो भत्ता’कार्यक्रम सुचारु

३ मंसिर २०७८, शुक्रबार ०७:३९
कालीकोट।जिल्लाको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ। गाउँपालिकाले पशुपालनमा प्रोत्साहन गर्नका लागि किसानलाई ‘गोठालो भत्ता’ दिने निर्णय गरेको हो ।पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा रु नौ लाख गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए। गाउँपालिकाले आर्थिक वर्ष २०७६र०७७ देखि पशुपालक किसानलाई […]