संसद आरोप-प्रत्यारोप गर्ने थलो होइन : माधव नेपाल

कर्णाली अनलाइन १३ जेष्ठ २०७९, शुक्रबार ११:३७

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसद आरोप-प्रत्यारोप गर्ने थलो नभएको बताएका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा अध्यक्ष नेपालले एकले अर्कोलाई दोषारोपण गरेर पानीमाथि ओभानो बन्ने प्रयास गर्न नहुने बताए।

‘हामीले के गर्‍यौँ के गर्नुपर्छ भनेर आत्मसमिक्षा गर्नुपर्छ। यो आरोप र प्रत्यारोपले हामीलाई कहीँ पुर्‍याउँदैन। तसर्थ यो संसद बैठक आरोप-प्रत्यारोप गर्ने थलो होइन र त्यस्तो रूपमा हामीले लान पनि हुन्न,’ उनले भने, ‘देश, जनता र समाजको समस्याका बारेमा गम्भीर विचार समर्थन गर्ने थलो हो। आ-आफ्ना कमीकमजोरी के के भए ? आत्म समीक्षा पनि गर्नुपर्छ। अरूलाई दोषारोपण गरेर पानी माथिको ओभानो बन्ने प्रयास नगरौं। कसैले पत्याउनेवाला पनि छैन। जम्मै कुरा छर्लंग छ।’

नेपालले युवाहरूमा राजनीतिक वितृष्णा छाएको बताए। उनले भने, ‘चाहे काठमाडौंमा बालेनको सफलता होस्, चाहे धरानमा हर्कजीको। अहिले भर्खरै भएको निर्वाचनमा विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवारले जित्नुभएको छ। उहाँहरूलाई बधाई दिन चाहन्छु। जनताले आफूलाई विश्वास भएका मान्छेलाई विजयी बनाएका छन्। ती सबै व्यक्तिहरूको मिहेनतका कारण सफलता प्राप्त गर्नुभएको छ।’

नेपालले निर्वाचन निकै खर्चिलो भएको भन्दै यसको सुधार हुनुपर्ने पनि बताए। ‘निर्वाचन खर्चिलो भएको छ। निर्वाचनमा पैसाको वितरण, भोजभतर गर्ने काम भइरहेको छ,’ उनले भने, ‘एकपछि अर्को बीचमा प्रतिस्पर्धा छ। कसले भोज खुवाउने, कसले मानिसलाई किन्ने प्रतिस्पर्धा छ। यसले भ्रष्टाचार हुन्छ। भ्रष्टाचार गरेको पैसा चुनावमा खर्च गर्ने अनि जितेपछि पुनः भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँछ।’

सरकार, निर्वाचन आयोगदेखि राजनीतिक दल सबैले खर्चिलो निर्वाचन प्रणालीलाई सुधारका लागि पहल अघि बढाउनुपर्ने उनको भनाई छ। ‘राज्य सत्तामा बसेकाहरूले ध्यान दिनुपर्‍यो। निर्वाचनमा पैसाको भूमिका होइन विचारको भूमिका हुनुपर्दछ,’ उनले भने।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा गोली लागेर एकको मृत्यु, दुई नाबालकसहित ८ जना पक्राउ

१३ जेष्ठ २०७९, शुक्रबार ११:३७
दाङ।दाङमा सिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ।जिल्लाको बंगलाचुली गाउँपालिका–८ रानीखुट्टीको जंगलमा शुक्रबार दिउँसो करिब १२ सिकार खेल्न गएको क्रममा आफैले बोकेको बन्दुक आफ्नै निधारछेउको भागमा पट्किँदा उनको घटना स्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा लमही–१ वसन्तपुर निवासी २३ वर्षीय कालुराम घर्तीमरको मृत्यु भएको वडा प्रहरी कार्यालय […]