चितवन। नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले गरेको सहमति प्रयासबारे आफू जानकार नभएको बताएका छन्। उनले अफ्नो उम्मेदवारी कायम रहेकोसमेत बताएका छन्।
‘अध्यक्षज्यूले सहमति खोज्न गरेका भनिएका प्रयासबारे मलाई थाहा छैन, मलाई कुनै जानकारी नै दिइएको छैन,’ पत्रकारहरूको जिज्ञसामा रावलले भने। उनले आफूले अध्यक्ष केपी ओलीको सम्मान गरे पनि उम्मेदवारीबाट पछि नहट्ने बताएका हुन् ।
‘म अध्यक्ष ओलीको धेरै सम्मान गर्छु,’ उनले भने, ‘तर, यसपटक जो-जो अध्यक्षका प्रत्यासी हुन्छन् ति सबैसँग प्रतिस्पर्धा गर्छु, पछि हट्दिनँ।’ रावलले शुक्रबार मध्यरातमा गरिएको विधान संशोधनका कारण आफू पछि हट्नुपर्ने स्थिति नरहेको बताए।
‘विधान संशोधन प्रस्ताव मेरा लागि होइन। मैले प्रस्ताव पेस गरेको पनि होइन,’ उनले भने। नेता रावलले महाधिवेशनको बन्दसत्र ढिलाइ भएकोमा आक्रोशसमेत व्यक्त गरे। महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि नेताहरूबीच सहमति जुट्न सकेको छैन।