भोलिदेखि आन्दोलन झन् चर्काउने दुर्गा प्रसाईँको उद्घोष

कर्णाली अनलाइन ७ मंसिर २०८०, बिहीबार २१:४६

काठमाडौँ।व्यवसायी दुर्गा प्रसाईँले आह्ववान गरेको बिहीबारको आन्दोलनमा हजारौँको संख्यामा सर्वसाधारणहरु उपस्थित भएका छन्। बल्खु क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारणहरु नेपाली झन्डा लिएर उपस्थित भएका थिए भने कलंकीदेखि सानेपासम्म रिङरोडको सडक ठप्प पारिएको थियो।

आन्दोलनको समापन गर्दै बल्खुमा आयोजित कोणसभामा दुर्गा प्रसाईँले शुक्रबारदेखि आन्दोलन झन् चर्काउने चेतावनी दिएका छन्। प्रसाईँले भोलिको आन्दोलन तीनकुनेबाट सुरु हुने र सिंहदरबार घेर्ने चेतावनीसमेत दिए। उनले यो व्यवस्था परिवर्तन गरिछाड्ने चेतावनी पनि दिएका छन्।

उनले भने-  ‘सबै मिसन ८४ भनेर लागेका छन् तर हामी मिसन ८५ होइन हामी मिसन टुडेमा छौँ र हामीले यो ब्यबस्था परिवर्तन गरिछाड्ने छौँ।’

उनले बिहीबारको आन्दोलनका क्रममा प्रहरीतर्फबाट झडप भएको र आफ्नो समूहका केही व्यक्ति घाइते भएको समेत बताए। उनले काठमाडौँलाई स्वस्फुर्त रुपमा बन्द गर्न आग्रह गर्दै पसलहरु बन्द गरेर अभियानलाई सघाउन आह्वान पनि गरेका थिए। उनले भने- म काठमाडौँबासीलाई सटर बन्द गरेर आन्दोलनमा सहभागी हुन आह्वान गर्छु।

समापनका क्रममा आयोजित कोणसभामा व्यवसायी दुर्गा प्रसाईँले आफू नेतृत्वको आन्दोलनलाई जनविद्रोहको संज्ञा दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनतासमक्ष आत्मसमर्पण गर्न चेतावनी दिए।

उनले कोणसभालाई सम्बोधन गर्दै जनतासमक्ष आत्मसमर्पण गरेर आफ्नो राजनीति सुरक्षित राख्न प्रधानमन्त्री दाहालसँग आग्रह गरेका हुन्।

उनले सम्बोधनका क्रममा ट्याक्सी र टिपरवालाई पनि आह्वान गर्दै भोलिदेखिको आन्दोलनमा सडकमा ट्याक्सी र टिपर तेर्स्याउन पनि भनेका छन्।

व्यवसायी दुर्गा प्रसाईँले आह्वान गरेको बिहीबारको जनविद्रोहका क्रममा राजधानीका विभिन्न स्थानबाट आएका सर्वसाधारणहरु बल्खुमा भेला भएका थिए। प्रदर्शनकारीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ लगायत पूर्व राजाकेन्द्रित नाराहरु लगाएका थिए।

एमाले निकट युवासंघले दुर्गा प्रसाईँको आन्दोलनसँग जुधाउन मंसिर ७ गते नै प्रदर्शन आयोजना गरेको थियो। यद्यपि प्रशासन कार्यालयहरुले यी द्ई आन्दोलनका लागि बेग्लाबेग्लै स्थान तोक्नुका साथै सम्भावित मुठभेड रोक्न विशेष तयारी गरेको थियो। युवासंघ केन्द्रित आन्दोलनका लागि तीनकुने तथा दुर्गा प्रसाईँ नेतृत्वको आन्दोलनका लागि बल्खु क्षेत्र तोकिएपछि सम्भावित मुठभेड टरेको थियो। यद्यपि युवासंघका कार्यकर्ताहरु र्‍याली लिएर कालीमाटीबाट बल्खुतर्फ आएपछि दुर्गा प्रसाईँ पक्ष र उनीहरुबीच झडपको अवस्था सिर्जना भएको थियो। सु्रक्षाकर्मीले उक्त झडप नियन्त्रणमा लिएको थियो।

सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो बनाएर सकेसम्म झडप तथा अप्रिय स्थिति रोक्न प्रयास गरिए पनि दिउँसो बल्खुमा प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको थियो।

दिउँसो दुर्गा प्रसाईँका हजारौँ समर्थकहरु प्रहरीको घेरा तोडेर माइतीघरतर्फ जान खोज्दा प्रहरीले नियन्त्रणमा लिन बल नै प्रयोग गर्नुपर्‍यो। भिड नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रयोग गरेको थियो।

दुर्गा प्रसाईँको आन्दोलनमा समर्थन जनाउन राप्रपाका नेता ज्ञानेन्द्र शाही पनि बल्खु पुगेका थिए। उनले प्रदर्शनकारीहरुलाई माइतीघरतर्फ जान जोस्याएपछि भिड सहरभित्र पस्न उत्तेजित बनेको थियो। यद्यपि प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा हानेर भिड तितरबितर पारेको थियो।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्गा प्रसाईंको प्रदर्शन क्षेत्रमा भएको झडपमा २८ घाइते, १५७ सेल अश्रुग्यास ५ राउण्ड रबर गोली

७ मंसिर २०८०, बिहीबार २१:४६
  काठमाडौँ । काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले गरेको प्रदर्शन क्षेत्रमा भएको झडपमा पाँच प्रहरीसहित २८ जना घाइते भएका छन्। झडपपछि स्थिति नियन्त्रणमा लिने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये १७ जना उपचारपछि घर फर्किएका र छ जनाको […]