चुच्चे नक्साको ठाउँ दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै एमाले

कर्णाली अनलाइन ८ कार्तिक २०७९, मंगलवार १६:५१

काठमाडौँ।नेकपा एमालेले आसन्न प्रतिनिधि र प्रदेश सभा केन्द्रीत चुनावी आमसभा सुदूरपश्चिमबाट सुरु गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते दार्चुलाबाट चुनावी राष्ट्रव्यापी अभियान सुरु गर्ने कार्यक्रम तय भएको छ।

‘आसन्न चुनावलाई लक्षित गरेर राष्ट्रव्यापी आमसभा सुदूरपश्चिमबाट उद्घाटन गर्ने तय भएको छ,’ नेकपा एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले नेपालखबरसँग भने, ‘१८ गते दार्चुलाबाट आमसभा उद्घाटन पछि क्रमशः एमालेले देशका अन्य ठाउँमा सभा गर्ने छ।’

दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई सम्बोधन गर्दै सुरु हुने अभियान अन्तर्गत सोही दिन ओलीले सुदूरपश्चिका अन्य दुई जिल्लाका आमसभालाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिव पाठकले बताए।

उनका अनुसार दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई ओलीले सम्बोधन गर्ने छन्।

भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको दार्चुलाबाट ओलीले एमालेको आसन्न चुनावको राष्ट्रव्यापी अभियान सुरु गर्न लागेका छन्।

ओली सरकारको नेतृत्वमा भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र समेटेर नेपालको नक्सा जारी भएको थियो।

सोही कुरालाई चुनावमा जनतामाझ लगेर ‘चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता ल्याउन’ भन्दै मत माग्न एमालेले अभियान सुरु गर्नका लागि दार्चुलालाई रोजेको अनुमान छ।

दार्चुलामा एमालेको आमसभा उद्घाटन गर्न अध्यक्ष ओली आउने कार्यक्रम तय भएपछि तयारी तीव्र पारिएको त्यहाँका अध्यक्ष प्रेमसिंह धामीले बताए।

‘कार्यक्रमको तयारीमा जुटेका छौँ, आमसभामा हजारौँ मानिसको सहभागीता रहन्छ,’ उनले भने। ओली ९ वर्षपछि दार्चुला जान लागेका हुन्। यसअघि ०७० सालको चुनावमा गोकुलेश्वरमा आयोजना भएको आमसभालाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपराह्न ४ बजेर ५२ मिनेटबाट सूर्यग्रहण सुरु,साँझ ५ बजेर २४ मिनेटमा सकिने

८ कार्तिक २०७९, मंगलवार १६:५१
काठमाडौं।अपराह्न ४ बजेर ५२ मिनेटमा ग्रहण सुरु हुने र साँझ ५ बजेर २४ मिनेटमा सकिने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार सूर्यास्त ५:२४ बजे सूर्यास्त हुने भएकाले नेपालमा करिब ३२ मिनेटग्रहण देखिनेछ। तर ग्रहणले साँझ ६ः४५ बजेतिर मात्र छाड्ने उनले बताए। खगोलविद् डा.जयन्त […]