ओलीलाई प्रचण्डको कटाक्ष : जनता उल्लू छैनन्, अब उखान-तुक्कालाई पत्याउँदैनन्

कर्णाली अनलाइन २० कार्तिक २०७९, आईतवार २१:४२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी निर्वाचनमा अग्रगमन र प्रतिगमनविरुद्धको लडाइँ भएको बताएका छन् । रामेछाप जिल्लाका एमालेका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा गणतन्त्र आउँछ भन्ने कुरा परिकल्पना समेत नगरेको बताए ।

उनले भने, ‘ओली गणतन्त्र र संविधानको पछिसम्म विरोध गर्दै हिँड्थे । पछि संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र पनि घोषणा भयो । उनको इच्छा विपरीत । त्यतिबेला उनले भन्ने गर्थे माओेवादीले आँधिहुरी लिएर आयो । सबै त्यसमा हिँडेपछि म पनि त्यसमा हिँडेको हो मन त परेको थिएन भन्थे । संविधान बनाउने बेलामा पनि ।’

संविधानमा सही गरेपछि आफूहरुले ओली पनि संघीय लोकतन्त्रवादी भए होलान् भन्ने अपेक्षा गरेपनि नभएको उल्लेख गरे । ओली अहिलेसम्म पनि धर्म निरपेक्षतावादी नभएको आरोप लगाए ।

उनले भने, ‘मैले वाम गठबन्धनको प्रस्ताव पनि राखे । केपी ओलीको प्रस्ताव पनि होइन । पछि पार्टी एकताको प्रस्ताव पनि राखियो। तर, एकताको तीन बर्ष पुग्न नपाउँदै उनी त अहिलेसम्मको उलपब्धि कहिले उल्ट्याउला भनेर लुकेर बसेका रहेछन् ।’

ओली आफू प्रधानमन्त्री भएपछि संविधान मिचेर पटक पटक प्रतिनिधि सभा विघटन गरेको जिकिर गरे । उनले भने, ‘ओली अहिले पनि लाज पचाएर भाषण गर्दै हिँडेको देख्छु । मलाई त अनौठो लाग्छ। हामीले दुई तिहाइको सरकार र प्रधानमन्त्री बनाएका थियौँ । उनले पार्टी र सरकार पनि बचाउन सकेनन् । अहिले के भनेर भोट माग्न गएका हुन् । उनले नेपाली जनतालाई उल्लू ठानेका छन् कि । हिजो दुई तिहाइ दिँदा पाँच बर्षसम्म टिकाउन नसक्ने उनै हुन् ।’

ओलीले आफूले जनताका अगाडि गएर उखान टुक्का हानेर हसाउँदैमा भोट पाउँछु भन्ने ठानेको टिप्पणी गरे । ओलीको अहंकारले संविधानविरोधी गतिविधि गर्दा जनताले समेत विरोध र बहिष्कार गरेको उनको भनाइ छ । ओली असफल भएर बालुवाटारबाट बालकोट जानुपरेको बताए ।

प्रचण्डले भने, ‘स्थानीय चुनावमा दुई तिहाइ ल्याउँछु भनेर गफ हान्थे । तर, पहिलाको भन्दा सयभन्दा धेरै ठाउँमा पराजित बने। अहिले पनि जनताले बुझिसकेको छन्। त्यसैले यो परिवर्तनको बहाक शक्तिलाई नै जनताले देश र जनताको रक्षा गर्छ भन्ने जनताले बुझिसकेका छन् ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जथाभावी प्रयोगले घातक बन्दैछ एन्टिबायोटिक

२० कार्तिक २०७९, आईतवार २१:४२
          मत्स्य तथा पशुपक्षी विकास निर्देशनालयका डा परवेज आलमले “कुखुरा र दूधको परीक्षण ३ जिल्लामा गरिएको र त्यो रिपोर्ट भन्न नसकिने गरि एन्टिबायोटिक प्रयोग भएको पाइएको” बताएका छन्। रूपन्देही कपिलवस्तु र बाँकेमा बोइलर कुखुरा र दूधमा एन्टिबायोटिकको प्रयोगका बारेमा परीक्षण गरिएको डा परवेजले बताए। लुम्बिनी प्रदेश, […]

सम्बन्धित शीर्षक