काठमाडौँ।मंसिर ४ गते हुन लागेको आम निर्वाचनलाई लक्षित गर्दै नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनका कार्यक्रम स्थगन गर्न प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ। राजनीतिक दबाबका कारण महासंघले तत्कालका लागि आन्दोलन स्थगित गरेको स्रोतको दाबी छ।
तरलता अभावका कारण निरन्तर बढिरहेको कर्जाको ब्याजदर स्थायित्व र चाल पुँजी कर्जा मार्गदर्शन स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग जोडदार माग गरेको छ।
‘तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पुँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरु एवं वस्तुगत संघहरूले राखेका मागप्रति महासंघ ऐक्यवद्धता पनि जाहेर गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।
साथै, मंसिर ४ गते प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन हुन लागेको र लोकतान्त्रिक व्यवस्था एवं खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्वपूर्ण रहेको विषयलाई मनन गर्दै हाल सञ्चालित विरोधका कार्यक्रम स्थगन गर्न महासंघले सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको हाे।
निर्वाचन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत महासंघले अनुरोध गरेको छ।
निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार एवं नेपाल राष्ट्र बैंकसँग सम्वादमा रहने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘वार्ताका माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुनेमा महासंघ विश्वस्त छ। निर्वाचनपछि पनि सरोकारवाला निकायबाट निजी क्षेत्रका माग सम्बोधन नभएमा महासंघले आर्थिक स्थायित्व एवं निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्नेछ।’
सरकारले बढाएको ब्याजदर र केन्द्रीय बैंकले लागू गरेको मार्गदर्शनका कारण निजी क्षेत्र मर्माहत भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलन गर्दै आएको थियो।