सुर्खेत । सुर्खेतमा रहेका विभिन्न यातायात व्यवसायी संगठनको संयुक्त यातायातले निर्णय नै गरेर चौकुनेसम्म गाडीहरू यातायात सञ्चालन नगर्दा यहाँका नागरिकले सास्ती भोग्दै आएका छन् । करीव ४२ दिनदेखि सुर्खेत पश्चिमको चौकुनेमा यातायातका साधन सञ्चालन भएका छैनन् ।
यातायात व्यवसायीसँग अनुरोध गर्दा उनीहरूले बेवास्ता गरेपछि नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगरसम्म टिपरमै यात्रा गराउन थालिएको गाउँपालिका जनाएको छ ।
बाटो पनि राम्रो छ । बिग्रेको ठाउँमा हामीले नै बनाइदिन्छु भन्दा पनि यातायातका साथीहरूले वास्ता गर्नुभएन, गाउँपालिका अध्यक्ष खड्क विकले भने, केही निजी बोलेरोहरूले मनलाग्दी भाडा लुटेका छन् । बिरामी, गर्भवती र ज्येष्ठ नागरिकलाई सास्ती भएपछि टिपरमै निःशुल्क नागरिकहरूलाई सेवा दिन थालेका हौं । अब केही समयपछि पालिकाले नै गाडी खरिद गर्नेगरी तयारी गरेको उनले बताए । दुई वटा टिपरमा पालिका अध्यक्ष खड्क विक र तीन वटा वडाध्यक्षसहित ६० जना यात्रु वीरेन्द्रनगरका आएका छन् ।
टिपरमा नागरिक लिनु रहर नभएर बाध्यता रहेको उनले बताए । यातायातको व्यवस्था नभएसम्म पालिकाकै टिपर र तेल खर्च गरिने उनको भनाइ छ । शनिबारबाट दुईवटा टिपर र आइतबारबाट चार वटा टिपरबाट सेवा दिइनेछ उनले जनाए ।
यस्तै गुठु बजार व्यवस्थापन समितका अध्यक्ष मानबहादुर श्रेष्ठले स्थानीय र पालिकाले बिग्रेका ठाउँमा बनाउँदा पनि सडकमै बहाना बनाएर व्यवसायी उम्किँदा नागरिकलाई सास्ती भएको बताए । शनिबारदेखि चौकुने गाउँपालिकाले निःशुल्क यात्राको ब्यानर टाँगेर नागरिकलाई यात्रा गराइएको छ ।