एमाले महाधिवेशनमा प्रविधि उच्च प्रयोग : मत माग्ने नौलो तरिका

कर्णाली अनलाइन १० मंसिर २०७८, शुक्रबार ११:०४

काठमाडौँ ।नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारहरुले मत माग्न प्रविधिको उच्चतम प्रयोग गरेका छन्।देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई उम्मेदवारी घोषणा गरिसकेका र दाबेदार रहेका सम्भावित उम्मेदवारहरुले मिसकल एलर्ट, ओबीडी र बल्क एसएमएसको उच्च प्रयोग गरेका हुन्।

एमाले महाधिवेशनमा ओबीडी नौलो प्रयोग हो। आउट बण्ड डायलिङ भनिने ओबीडी प्रविधिमा मोबाइलमै उम्मेदवारको अडियो सुन्न सकिन्छ। भर्चुअल माध्यमबाट तयार गरिएको आफ्नो अडियो सन्देश सम्बन्धित प्रतिनिधिको मोबाइलमा अटो डायल गरी सुनिने व्यवस्थासहित सफ्टवेयर निर्माण भएर ओबीडी प्रयोगमा आएको हो।

एमाले महाधिवेशनमा सबैभन्दा पहिला लेखा आयोग सदस्य पदका उम्मेदवार कम्युटर ईन्जिनियर सञ्जीव रोकाहाले यसको प्रयोग गरेका थिए। उनले एक घण्टी सर्भिसेस प्रालिबाट यो सेवा प्रयोग गरेका हुन्। एक घण्टी सर्भिसेसका प्राविधिक प्रदीप खड्काले योगेश भट्टराई, खगराज अधिकारीलगायत थुप्रै नेताले यो सेवा लिइसकेको जानकारी दिए ।

‘यो भर्खर भर्खर सुरु भएको छ । एमालेमा सञ्जीव रोकाहाले फस्ट प्रयोगमा ल्याउनुभयो,’ उनले भने ।पहिलोपटक प्रयोग गरेका ईन्जिनियर रोकाहाले मतदाताहरुमा सहज ढंगबाट सन्देश पुर्याउन यो प्रविधि उपयोगी भएको बताए ।

‘सबै प्रतिनिधिलाई व्यक्तिगत रुपमा फोन गर्न सम्भव भएन । त्यसैले सफ्टवेयरबाट एकैपटक सन्देश जाने प्रभावकारी माध्य भएकाले प्रयोग गरे । प्रतिनिधिहरुले यो रुचाउनुभयो । हाम्रो ट्रायलपछि अरु नेता कार्यकर्ताले पनि प्रयोग गरिरहेका छन्,’ उनले भने ।

प्रतिनिधिहरुका अनुसार महाधिवेशनमा मत माग्न मिसकल एलर्ट, ओबीडी बल्क एसएमएसहरु आइरहेका छन् ।उनीहरुको अनुभवमा यसपटक सबैभन्दा बढी सम्भावित उम्मेदवारले धेरै भन्दा धेरै एसएमएस पठाएका छन् । महाधिवेशन प्रचार प्रसार समितिका अनुसार उम्मेदवारहरुले डिजिटल ब्यानर र भिडियो सन्देश पनि प्रवाह गरेका छन् । आफ्नो उम्मेदवारी सामाजिक सञ्जालबाट घोषणा गर्ने क्रम पनि छ । लाइभमा आएर घोषणा गर्ने प्रयोग पनि भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीलंकाले १८६ रनले हरायो वेस्ट इन्डिजलाई

१० मंसिर २०७८, शुक्रबार ११:०४
काठमाडौं । श्रीलंकाले आज पहिलो टेस्टमा वेस्ट इन्डिजलाई १८६ रनले हराएको छ । कप्तान दिमुथ करुणारत्नेको उत्कृष्ट ब्याटिङप्रेरित खेलसँगै श्रीलङ्काले वेस्ट इन्डिजलाई हराएकाे हाे। जितका लागि ३४८ रन लक्ष्य पाएको वेस्ट इन्डिजले ५६-६ को स्थितिबाट पाँचौँ दिनको सुरुआत गरेको थियो । वेस्ट इन्डिजले अन्तिम दिन थप १०८ रन जोड्दा बाँकी […]