नेतृत्व परिवर्तन गर्न नसके कांग्रेसलाई आगामी दिनमा गाह्रो हुन्छ – प्रकाशमान सिंह

कर्णाली अनलाइन ११ मंसिर २०७८, शनिबार ०९:२२

काठमाडौँ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन्।वर्तमान पार्टी नेतृत्वले निर्वाचनमा कांग्रेसलाई ३० सीटमा सीमित गराएको भन्दै उनले कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिने बताए।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति पदमा कृष्ण बानियाँ (सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेता सिंहले भने, ‘जनताले चाहेअनुसारको नेतृत्व परिवर्तन गर्न सकेनौँ भने कांग्रेसलाई आउँदो दिन गाह्रो हुन्छ। कांग्रेस कमजोर भयो भने नेपालको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिन सक्छ।’

कार्यक्रममा कांग्रेसका युवा नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताए। उनले आफू महामन्त्री हुने कुरा गौण भए पनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताएका हुन्।

‘नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको छ’, नेता थापाले भने, ‘यो अधिवेशनबाट कांग्रेसको मूल अनुहार, कांग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौँ कि सक्दैनौँ त्यो सबैभन्दा ठूलो प्रश्न हो। हामी कोही केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ।’

जनतमा ठूलो निराशा रहेको र चुनावदेखि चुनावसम्मको गोलचक्रमा देश घुमिरहेको भन्दै उनले भने, ‘कांग्रेसले चुनाव जित्नुपर्छ। जित्छ चुनाव तर चुनाव जितेपछि के? नागरिकलाई अहिले चुनाव जित्ने कुरा होइन, एउटा भरोसा चाहिएको छ। युवामा मेरो जीवनकालमा नेपाल बदलिन्छ भन्ने विश्वास चाहिएको छ। त्यो विश्वास दिनसक्ने नेपाली कांग्रेसको नेतृत्व चाहिएको छ। यो अधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्छ।’

नेता थापाले पार्टीको नेतृत्व बदल्न चाहनेहरुको बीचमा एकता र समझदारी हुनु आवश्यक रहेको औंल्याए। कसले नेतृत्व गर्दा राजनीतिक रुपमा न्याय र जायज हुन्छ उसको नेतृत्वमा जानुपर्ने उनको भनाइ छ। सकेसम्म १२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका नेताहरु पुनः एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए।

कांग्रेस काठमाडौँ जिल्ला समितिमा नेताहरु थापा र श्रेष्ठको समर्थनमा सभापति कृष्ण बानियाँ (सबुज), उपसभापतिहरु राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवहरु गोविन्द पुडासैनी र इन्द्रबहादुर थापालगायतको प्यानलको उम्मेदवारी घोषणा गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुटेन एमालेमा पदाधिकारी चयनमा सहमति ,ओली बन्दसत्र स्थलमा

११ मंसिर २०७८, शनिबार ०९:२२
चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमति जुटाउन गरेको प्रयास असफल भएको छ। शनिबार बन्दसत्र सुरु हुनुअघि उनले सौराहास्थित होटल पार्क सफारीमा आफू निकटका नेताहरुसँग बसेर छलफल गरेका थिए। तर, आकांक्षीहरुले आफ्नो दाबी नछाडेपछि सहमति प्रयास असफल भएको हो। सहमतिमा पदाधिकारी चयन गर्ने भनिएको भए पनि आकांक्षीहरु धेरै भएकाले […]

सम्बन्धित शीर्षक