माओवादी केन्द्रकाे पदाधिकारी बैठक:राष्ट्रपतिमा अन्तिम निर्णय लिने जिम्मा अध्यक्ष प्रचण्डलाई

कर्णाली अनलाइन ८ फाल्गुन २०७९, सोमबार २१:३०

काठमाडौँ । नेकपा माओवादी केन्द्रकाे पदाधिकारी बैठकले पार्टीको स्वार्थलाई केन्द्रमा राखेर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी गर्ने  निर्णय गरेकाे छ ।

पार्टी कार्यालय पेरिसडाँडामा साेबबार साँझ बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे पार्टी उपाध्यक्ष  कृष्णबहादुर महराले बताए ।बैठककाे निर्णयबारे जानकारी गराउँदै उनले भने, ‘हाम्राे पार्टीको स्वार्थलाई केन्द्रमा राखेर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी गर्ने कुरा भएको छ । राष्ट्रपतिकाे उम्मेदवार काे हुने भन्ने व्यक्तिका विषयमा छलफल भएन ।’

यसबारे अन्तिम निर्णय लिने जिम्मा अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै दिइएकाे पनि उनले बताए ।‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अन्तिम निर्णय गर्ने अधिकार पनि दिएको छ,’ उनले भने, ‘पार्टीको स्वार्थ अनुसार संविधान र कानुनको पालना गर्दै राष्ट्रिय सहमति खोज्ने निर्णय गरियो ।’

बैठक अगाडि प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पनि राष्ट्रपति निर्वाचनबारे छलफल भएको थियो ।

विभिन्न दलका नेतासँग प्रचण्डकाे भेटबारे सञ्चारकर्मीले साेधेकाे प्रश्नमा महराले भने– ‘भेट त जाेसँग पनि हुन्छ । सबैसँग हुन्छ । तर, सहमतिका लागि हाम्राे स्वार्थ मिल्नु पर्छ । त्याे भनेकाे राष्ट्रियता, गणतन्त्रका विषयमा सहमति हुनुपर्छ ।’

२५ फागुनमा राष्ट्रपति निर्वाचन हुँदैछ । आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिएका थिए । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाको तातोपानीमा मिनि ट्रक दुर्घटना हुँदा २ जना घाइते

८ फाल्गुन २०७९, सोमबार २१:३०
जुम्ला ।जुम्लामा मिनिट्रक दुर्घटना हुदा २ जना घाइते भएका छन् ।जुम्लाको तातोपानी गाउँपालिका ६ रावतवाडा भन्ने स्थानमा सुर्खेतबाट जुम्ला सदरमुकामतर्फ आउदैँ गरेको सरिया, सिमेन्ट र डिजल ढुवानी गरी ल्याएको कर्णाली प्रदेश०२-००१ख६२७ नम्वरको मिनि ट्रक अनियन्त्रित भई सडक वाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको छ । उक्त ट्रकमा सवार […]