सरकारले भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने

कर्णाली अनलाइन २६ कार्तिक २०८०, आईतवार २०:४९

काठमाडौँ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

आइतबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुको लागि अस्थायी आवास बनाउन प्रतिपरिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो। सो रकम २५/२५ हजार रुपैयाँका दरले दुई किस्तामा उपलब्ध गराइने छ।

त्यस्तै, बैठकले बझाङ केन्द्रबिन्दु बनाई गएको भूकम्पबाट प्रभावितहरुलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने यसअघिको उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयलाई अनुमोदनसमेत गरेको छ।

बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुमपश्चिमलाई पाँच/पाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुख स्तरीय निर्णयको अनुमोदन पनि गरेको छ।

साथै जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ बमोजिम बमोजिम रकम खर्च गर्ने सम्बन्धमा प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमा तोकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुमा एकै परिवारका चार जनाको हत्याका आरोपि १३ दिनपछि पक्राउ

२६ कार्तिक २०८०, आईतवार २०:४९
सुर्खेत।मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।घटना बाहिर आएको १३ दिनपछि प्रहरीले चार जनाको हत्या गरेको आरोपमा एक अभियुक्तलाई केही दिन अघि नै प्रहरीले पक्राउ गरेको हो। हत्यामा उनको संलग्नता पुष्टि भइसकेको प्रहरीको दाबी छ। मुगु छायानाथ रारा नगरपालिका घर भई हाल […]